देश

चितवनमा एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस, रत्ननगरमा सबैभन्दा बढी सङ्क्रमित

चितवन ।गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा परीक्षण गरिएका बिरामीमध्ये ८९३ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। जनस्वास्थ्य कार्यालय चितवनका अनुसार ११ हजार ४१९ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा संक्रमण देखिएको हो।

कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार संक्रमितमध्ये ६२१ जना चितवन जिल्लाकै हुन्। स्थानीय तहअनुसार सबैभन्दा बढी रत्ननगर नगरपालिकामा २४६ जना संक्रमित भेटिएका छन्। त्यसपछि खैरहनी नगरपालिकामा ११७, भरतपुर महानगरपालिकामा ९०, राप्ती नगरपालिकामा ८२, कालिका नगरपालिकामा ६९, इच्छाकामना गाउँपालिकामा १० र माडी नगरपालिकामा सात जनामा संक्रमण पुष्टि भएको छ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ७ हजार ९५ जनाको परीक्षण गर्दा १ हजार ५५ जनामा स्क्रब टाइफस संक्रमण देखिएको थियो। चालु आर्थिक वर्षमा भने यस रोगका कारण एक जनाको मृत्यु भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।

स्क्रब टाइफस संक्रमित किर्नाले टोकेपछि सर्ने रोग हो। यसबाट उच्च ज्वरो, आँखा रातो हुने, खोकी, वान्ता, पेट दुख्ने, पखाला लाग्ने, श्वासप्रश्वासमा समस्या हुने, टाउको, जोर्नी र मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने तथा टोकेको स्थानमा कालो दाग देखिने जस्ता लक्षण देखिन सक्छन्।

जनस्वास्थ्य कार्यालयले खेतबारी, झाडी वा वन क्षेत्रमा जाँदा लामो बाहुलाको कपडा र उपयुक्त जुत्ता लगाउन, शरीरको खुला भागमा कीटनाशक मलम प्रयोग गर्न, घर वरिपरि झाडी बढ्न नदिन र मुसा नियन्त्रणका लागि अन्न सुरक्षित रूपमा भण्डारण गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *