काठमाडौं । रसुवाको भोटेकोशी बाढीपीडितलाई चीन सरकारले ठूलो मात्रामा सहयोग गरेको छ । चीन सरकारले बाढी तथा अन्य विपद्बाट प्रभावित नेपाली नागरिकको उद्धार र राहत व्यवस्थापनका लागि ६ वटा सैन्य कार्गो विमानमार्फत विभिन्न सामग्री नेपाल पठाएको हो ।
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले चीनबाट प्राप्त सहयोगबारे औपचारिक जानकारी दिँदै विमानमार्फत ड्रोन, डीएनए परीक्षण किट, पीसीआर मेसिन, बडी फ्रिजर, टेन्ट तथा भाँडाकुँडालगायतका सामग्री प्राप्त भएको जानकारी दिए ।
मन्त्री पुनका अनुसार चीनले राहत तथा उद्धारका लागि सामग्रीसँगै आर्थिक सहयोगसमेत उपलब्ध गराएको छ। चीन सरकारले अनुदानस्वरूप २ लाख अमेरिकी डलर उपलब्ध गराएको तथा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि थप २ लाख अमेरिकी डलर प्रदान गरेको समेत गरेको छ । त्यसैगरी, रेडक्रसमार्फत करिब २ लाख अमेरिकी डलर बराबरका राहत सामग्री पनि नेपालले प्राप्त गरेको मन्त्री पुनले बताएका छन्।
विपद् व्यवस्थापन तथा उद्धार कार्यमा सहयोग गर्न चीनबाट ६ जना विपद् राहत विज्ञ र १५ जना फोरेन्सिक विज्ञ नेपाल आएका छन्। फोरेन्सिक विज्ञहरू हाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा रहेर काम गरिरहेको मन्त्री पुनले जानकारी दिए। त्रिशूली क्षेत्रमा कठिन र जोखिमपूर्ण अवस्थामा सञ्चालन भएको उद्धार कार्यमा चिनियाँ विज्ञ टोलीले पुर्याएको सहयोगको मन्त्री पुनले प्रशंसा गरेका छन्। उनले विपद्को समयमा प्राविधिक जनशक्ति र विशेषज्ञ सहयोग उपलब्ध गराएकोमा चिनियाँ विज्ञ टोलीप्रति आभार व्यक्त गरे।
चीनबाट प्राप्त कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधि तथा स्याटेलाइट डाटाले विपद् प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन र अनुगमन गर्न सहयोग पुगेको मन्त्री पुनले बताएका छन्। उनले ‘माजु प्रणाली’मार्फत उपलब्ध हुने वास्तविक समयको डाटालाई प्रभावकारी रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिएका छन्। विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नेपाल र चीनबीच भइरहेको डाटा आदानप्रदानलाई निरन्तरता दिनुपर्ने उनको भनाइ छ।
मन्त्री पुनले विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग पुर्याएकोमा चीन सरकारप्रति नेपाल सरकारका तर्फबाट धन्यवाद व्यक्त गरेका छन्। उनले राहत सामग्री, आर्थिक सहयोग तथा प्राविधिक जनशक्ति उपलब्ध गराएकोमा चिनियाँ सरकार र विज्ञ टोलीप्रति कृतज्ञता व्यक्त गरे।




