जलश्रोत/उर्जा

दमौली–भरतपुर प्रसारण लाइनका लागि चितवनमा रुख कटान सुरु

दमौली । तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत निर्माणाधीन दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवनतर्फ रुख कटान सुरु गरिएको छ। राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रुख कटानको अनुमति प्राप्त भएपछि आयोजनाले काम अघि बढाएको हो।

आयोजनाले गत वैशाख २६ गते रुख कटानको अनुमति पाएपछि डिभिजन वन कार्यालय चितवनसँगको सम्झौताअनुसार रुख कटान, काठ सङ्कलन र सुरक्षित भण्डारणको काम सुरु गरेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए।

उनका अनुसार सामुदायिक वन उपभोक्ता समूहलाई आवश्यक अभिमुखीकरण प्रदान गरेपछि रुख कटान तथा काठ सङ्कलन सुरु गरिएको हो। स्वास्थ्य, सुरक्षा र वातावरणीय मापदण्डको पूर्ण पालना गर्दै काम भइरहेको तथा काठको सुरक्षित भण्डारणका लागि तारबार र सिसिटिभी जडान गर्न आर्थिक सहयोगसमेत उपलब्ध गराइएको उनले बताए।

भरतपुर महानगरपालिका–१ को सतनचुली सामुदायिक वन तथा वडा नं. २९ का अकलादेवी र सिद्धदेवी सामुदायिक वन क्षेत्रमा विभिन्न प्रजातिका एक हजार २६३ वटा रुख कटान गरिनेछ। यता, तनहुँतर्फ प्रसारण लाइनको मार्गमा पर्ने रुखमा छाप चिन्ह लगाउने कार्य जारी रहेको आयोजनाले जनाएको छ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ मङ्सिर २० गतेको निर्णयअनुसार चितवन र तनहुँमा पर्ने ९२.७३ हेक्टर वन क्षेत्र प्रयोग गर्न तथा ९ हजार १२७ वटा रुख हटाउन स्वीकृति प्रदान गरिएको थियो।

प्रसारण लाइनको तेस्रो प्याकेजअन्तर्गत निर्माण कार्य भारतको केइसी इन्टरनेशनल लिमिटेडले गरिरहेको छ। ३५ किलोमिटर लामो प्रसारण लाइनमा निर्माण हुने ९४ वटा टावरमध्ये ८२ वटाको जग निर्माण र ७२ वटा टावर जडान सम्पन्न भइसकेको छ। यस प्याकेजको समग्र भौतिक प्रगति ८१ प्रतिशत पुगेको आयोजनाले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *