जलश्रोत/उर्जा

दुई दशकदेखि वायुऊर्जा आयोजना अलपत्र

पर्वत। झन्डै दुई दशकदेखि अलपत्र बनेको पर्वतको महाशिला गाउँपालिका–६ फलामखानीस्थित वायुऊर्जा आयोजना पुनःसञ्चालन गर्न स्थानीयले माग गरेका छन्।

करोडौँ रुपैयाँको लागतमा विसं २०६० मा स्थापना गरिएको आयोजना विसं २०६३ मा बन्द भएको हो। मर्मतसम्भार र संरक्षणको अभावमा उपकरणहरू काम नलाग्ने अवस्थामा पुगेका कारण आयोजनाबाट विद्युत् उत्पादन हुन सकेको छैन।

‘टिटिबिजी’ नामक संस्थाले करिब एक करोड लगानीमा निर्माण गरेको उक्त आयोजनाबाट सुरुमा करिब १२ किलोवाट बिजुली उत्पादन हुँदै आएको थियो। तर संरक्षण नहुँदा सुरु भएको एक वर्षमै बन्द भई अहिले पूर्ण रूपमा अलपत्र अवस्थामा पुगेको स्थानीय ठाकुर रसाइलीले जानकारी दिए।

फलामखानी वडाध्यक्ष गोविन्द विश्वकर्माका अनुसार समुद्री सतहदेखि करिब २,२०० मिटर उचाइमा रहेको ढडेन डाँडामा प्रशस्त हावा हुने भएकाले आयोजना स्थापना गरिएको थियो। आयोजना सञ्चालनमा रहँदा फलामखानी, भँगरा लगायत सयौँ घरधुरीले विद्युत् उपभोग गर्दै आएका थिए।

स्थानीयले हाल आयोजनाको पुनर्निर्माण गरी करिब ३०० घरधुरीसहित छिमेकी वडाका बासिन्दालाई विद्युत् आपूर्ति गर्न सकिने भन्दै माग गरेका छन्।

गाउँपालिका अध्यक्ष ईश्वरी भुसालले आयोजनाबारे विस्तृत अध्ययन गरी चालु आर्थिक वर्षदेखि नै पुनःसञ्चालनको कार्ययोजना बनाउन लागिएको जानकारी दिए।

संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (UNEP) को रिपोर्टअनुसार नेपालमा करिब ३,००० मेगावाट विद्युत् हावाबाट उत्पादन गर्ने सम्भावना रहेको उल्लेख छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *