काठमाडौं । औषधि आपूर्तिमा समस्या देखिएपछि प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिले नेपाल औषधि लिमिटेडको स्थलगत अनुगमन गरेको छ।
अनुगमनको उद्देश्य लिमिटेडको औषधि उत्पादन अवस्था, भोगिरहेको समस्या, कच्चा पदार्थ आपूर्ति र औषधि आपूर्तिसम्बन्धी पक्षहरूबारे अध्ययन तथा शोधपुछ गर्नु हो।
समिति सभापति अब्दुल खानका अनुसार, नेपाल औषधि लिमिटेडले देशभरको माग धान्न सक्ने क्षमता राख्दासमेत सरकारी कार्यालयहरूले आफैं औषधि खरिद नगरेका कारण उत्पादन प्रभावित भएको लिमिटेडले जानकारी दिएको छ। साथै, कच्चा पदार्थ आयातमा समस्या, आर्थिक स्रोतको अभाव र सरकारी निकायको बेवास्ताका कारण हाल कम्पनीले ११ प्रकारका औषधिमात्र उत्पादन गरिरहेको बताइएको छ।
जनशक्ति, प्रविधि र पूर्वाधार पर्याप्त भए पनि नीतिगत समस्या र सरकारी उपेक्षाका कारण लिमिटेडको क्षमता परिचालनमा चुनौती देखिएको सभापति खानले बताए।
समितिले औषधि लिमिटेडका समस्याबारे छलफल गरी सरकारलाई आवश्यक सुझाव पेश गर्ने जनाएको छ।




