काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज (बिहीबार) बस्दैछ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ः बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषय, पतञ्जलि जग्गा प्रकरणबारे छलफल हुने जनाइएको छ । पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडाले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने जानकारी दिए ।
उनले अध्यक्ष माधवकुमार नेपाललाई लक्ष्य गरेर पार्टी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले दिएको अभिव्यक्तिबारे पनि छलफल हुने बताए । बुटवलमा पार्टी सम्बद्ध युवा संगठनले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले ‘मरेको सिनो काँधमा बोकेर हिँड्न सकिँदैन, अध्यक्ष फेरौं’ भन्ने अभिव्यक्ति दिएकी थिइन् ।
झाँक्रीको यस्तो अभिव्यक्ति आएपछि पार्टी महासचिव घनश्याम भूसालले जथाभावी अभिव्यक्ति नदिन ध्यानाकर्षण गराएका थिए । पार्टी अनुशासन आयोगले झाँक्रीलाई तीन दिने स्पष्टीकरण समेत सोधेको छ । त्यसको समय पनि आज सकिँदैछ । यसबारे बैठकमा छलफल हुन सक्ने खतिवडाले बताए । ‘अनुशासन आयोगले उहाँलाई स्पष्टीकरण सोधेको हो । त्यसबारे सचिवालयले निर्णय गर्ने कुरा त आएन तर आयोगले केही सिफारिस गर्न सक्छ,’ उनले भने ।
एकीकृत समाजवादीका नेताहरूले झाँक्रीलाई निलम्बनसम्मको कारबाही हुनसक्ने बताएका छन् ।




