देश

पूर्व राष्ट्रपति भण्डारीले सरकारी सेवा-सुविधा फिर्ताको तयारी

काठमाडौं । एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सबै सरकारी सेवा–सुविधा फिर्ताको तयारी गरेकी छन् । पूर्व राष्ट्र प्रमुखको सेवा सुविधा लिएर सक्रिय राजनीति गर्दा प्रश्न उठ्ने भएपछि सरकारले दिएको सो हैसियतको सुविधा फिर्ताका लागि गृह मन्त्रालयलाई पत्र पठाइने भएको छ ।

उनले शनिवार सभा गृहबाटै सो घोषणा गर्ने भनिए पनि स्टन्टबाजी नगर्ने भन्दै गृह मन्त्रालयलाई पत्र पठाएर फिर्ता गर्न लागिएको निकट स्रोतले जनाएको छ । भण्डारी निकट स्रोत भन्छ, ‘धेरै नेता–कार्यकर्ताले सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्ने क्रममा सेवा सुविधा फिर्ताको जानकारी पनि गराउन भनेका थिए । तर उहाँले त्यो सस्तो प्रचार र स्टन्टबाजी हुने भन्दै सरकारको सम्बन्धित निकायलाई पत्र पठाएर फिर्ता गर्ने चाहना राखेकाले सोही अनुसारको प्रक्रिया अघि बढेको छ ।’

भण्डारीलाई गृह मन्त्रालयले एक उपसचिव सरहका स्वकीय सचिव, कार्यालय सहयोगी समेतको लागि मासिक डेढ लाख रुपैयाँ उपलब्ध गराएको गृह मन्त्रालयले जनाएको छ ।  भण्डारीले गत १४ असारमा मदन जयन्तीको अवसरमा आयोजित कार्यक्रमकाबीच पार्टीको सदस्यता नवीकरण गरेको जानकारी गराएकी थिइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *