काठमाडौँ। सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश मेघराज पोखरेलले न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामाथि कुनै दबाब, प्रलोभन वा धम्की हाबी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
आइतबार सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा विस्तृत कार्ययोजना प्रस्तुत गर्दै उनले न्यायाधीशको भूमिका संविधान, कानून र न्यायको पक्षमा मात्र केन्द्रित हुनुपर्ने बताए। “कानुन व्यवसायीले कुनै न कुनै पक्ष लिनुपर्छ, तर न्यायाधीशको कुनै पक्ष हुँदैन,” उनले भने, “न्यायाधीशको भूमिकामा म पूर्णतः निष्पक्ष र स्वतन्त्र रहनेछु।”
पोखरेलले कार्यपालिका र व्यवस्थापिकासँगको सम्बन्धमा न्यायपालिकाले स्वतन्त्रता कायम राख्नुपर्ने धारणा राखे। साथै, उनले राज्यका सबै अंग संविधानको सीमाभित्र रहेर सञ्चालन हुनुपर्नेमा जोड दिँदै विधिको शासन स्थापनाका लागि सबैले आफ्नो दायित्वको सम्मान गर्नुपर्ने बताए।




