देश

एउटै मञ्चमा ओली–भण्डारी

काठमाडौँ। तत्कालीन नेकपा (एमाले) का महासचिव तथा जनताको बहुदलीय जनवाद (जबज) का प्रणेता मदन भण्डारीको ७४औँ जन्मजयन्ती आज विविध कार्यक्रममार्फत भव्य रूपमा मनाइँदैछ।

यसै अवसरमा मदन भण्डारी फाउन्डेशनले काठमाडौँस्थित राष्ट्रिय सभागृहमा ‘जबजका तीन दशक’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्छ भने विशेष अतिथिका रूपमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थिति रहेको छ। साथै, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत पार्टीका अन्य वरिष्ठ नेताहरूको पनि उपस्थिति रहेको छ।

एमालेले पाँचौँ महाधिवेशनबाट मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादलाई पार्टीको आधिकारिक सिद्धान्तका रूपमा अंगीकार गरेको थियो। २०४६ सालको नेकपा (माले)को चौथो महाधिवेशनले भण्डारीलाई महासचिव बनाएको थियो। त्यसपछि २०४७ सालमा नेकपा (माले) र नेकपा (माक्र्सवादी)बीच एकता भई बनेको एमालेको महासचिव र २०४९ सालको पाँचौँ महाधिवेशनमा पनि उनी पुनः महासचिवमा निर्वाचित भएका थिए।

२०४८ सालको संसदीय निर्वाचनमा उनी काठमाडौँ क्षेत्र नं १ बाट निर्वाचित भएका थिए। ताप्लेजुङको ढुङ्गेसाँघुमा २००९ साल असार १४ गते जन्मिएका भण्डारीको २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटनामा निधन भएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *