देश

आगामी वर्ष एसईईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने उद्देश्य सरकारको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीको मेहनतको अपमान गरिएको भन्दै आपत्ति जनाएका छन् ।

शुक्रवार साँझ प्रकाशित माध्यमिक शिक्षा परीक्षाको नतिजाप्रति केही विद्वानहरूले विद्यार्थीको अपमान हुनेगरी बोलेको भन्दै आपत्ति जनाएका हुन् ।

शनिवारको प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै उनले एसइईको नतिजामा गत वर्षको भन्दा १४ प्रतिशतले वृद्धि भएको र यो सुखद कार्य रहेको बताए । यस्तो नतिजामा पनि केही मानिसहरूले अंक थपेर पास गराइयो भन्दै अपमान गरेको बताए । नयाँ पुस्ताको मेहनतलाई होच्याउने र अपमान गर्ने काम भएको भन्दै दुःख लागेको बताए ।

नेपाली विद्यार्थीमा मेहनत गरेर आफ्नो उचाइ अघि बढाउनसक्ने खुबी रहेको बताए ।

प्रधानमन्त्री ओलीले भने ‘खुशीको कुरा हो । यस वर्षको एसइईको परीक्षाको नतिजा प्रकाशित भएको छ । एसइईको नतिजामा गत वर्षको भन्दा १४ प्रतिशतले राम्रो नतिजा वृद्धि भएको छ । यस अवसरमा राम्रो नम्बरका साथ उत्तीर्ण हुने विद्यार्थीलाई हार्दिक बधाई भन्न चाहन्छु, उहाँहरूको सफलताको शुभकामना भन्न चाहन्छु । ४८ प्रतिशत भन्दा कमको अवस्थाबाट ६१.८१ प्रतिशतको नतिजा पुयाउन मेहनत गर्ने विद्यार्थी भाई बहिनीलाई धन्यवाद भन्न चाहन्छु, राम्रो ध्यान दिएर विद्यार्थीलाई पढाउने शिक्षकलाई धन्यवाद भन्न चाहन्छु, उहाँहरूको मेहनत सफल भएको छ ।’

प्रधानमन्त्री ओलीले आगामी वर्ष ६५ देखि ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुनेगरी सरकारले आफ्नो योजनाअनुसार अघि बढाउने बताए । विद्यार्थी फेल नहुने परिस्थिति निर्माण गर्नुपर्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *