राजनीति

अश्रुग्यासको असरले आवेगमा आएको स्वीकार गर्दै रविन्द्र मिश्रको अदालतमा बयान

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले अदालतमा बयान दिँदै आफू अश्रुग्यासको प्रभावमा आवेगमा आएको स्वीकार गरेका छन्।

आइतबार जिल्ला अदालत काठमाडौंमा म्याद थप सुनुवाइका क्रममा मिश्रले आँखैअगाडि अश्रुग्यास पड्किएपछि स्वभाविक रूपमा भावुक भएको बताएका हुन्। “नाकै छेउमा अश्रुग्यास परेको थियो, आँशु बगाएर साथीलाई बचाएपछि म आवेगमा आएँ,” मिश्रले न्यायाधीश समक्ष स्पष्ट पारे।

१५ चैतमा काठमाडौंको तीनकुनेमा राजावादी समूहको प्रदर्शनका क्रममा मिश्रलाई प्रहरीले पक्राउ गरेको थियो। त्यसयता उनी जिल्ला प्रहरी परिसरको हिरासतमा छन्।

मिश्रले आफ्नो बहसमा आन्दोलनको समयमा प्रहरी घेरा तोड्ने, संसद्मा आगो लगाउने वा हिंसात्मक कुनै आह्वान नगरेको दाबी गरे। “मैले नागरिकहरूलाई अघि बढ्न भनेको थिएँ, तर हिंसा र तोडफोडका लागि उक्साएको थिइनँ,” उनले भने।

उनीमाथि लगाइएको लामो हिरासतको विषयमा मिश्रले भने, “जति धेरै हिरासतमा राखिन्छ, त्यति नै मलाई नायक र राज्यलाई खलनायक देखाउने परिस्थिति बन्छ।” उनले बाँकी जीवन “नाक काटेर” बिताउन नचाहेको भन्दै निष्पक्ष न्यायको आग्रह गरे।

आज आमाको मुख हेर्ने दिनमा रिहा भएर आमालाई भेट्न पाउँ भन्ने भावनात्मक अपिल मिश्रले गरे पनि सरकारी वकिलहरूले अनुसन्धान अझ नसकिएको भन्दै कम्तीमा २० दिन थप हिरासतमा राख्न माग गरेका छन्। यसअघि पनि अदालतले तीन दिन म्याद थप गरेको थियो।

अहिलेको म्यादपछि मिश्रको रिहा वा थप हिरासतको निर्णय अदालतले चाँडै सुनाउने अपेक्षा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *