राजनीति

युवा एकताले देश विकासमा टेवा पुग्छ : युवा नेताहरूको जोड

काठमाडौँ । युवाहरू एकजुट भए देशको विकासमा सधैँ महत्वपूर्ण योगदान पुग्ने कुरामा विभिन्न क्षेत्रका युवा नेताहरूले जोड दिएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले लोकतन्त्र दिवसको अवसरमा आज भृकुटीमण्डपमा आयोजना गरेको ‘यूथ सेलिब्रेसन’ कार्यक्रममा आफ्ना प्रतिभा प्रस्तुत गर्दै युवा नेताहरूले देश विकासमा युवा एकताको महत्व दर्शाएका थिए।

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले सकारात्मक कामहरूको प्रचार गर्न एमालेले युवा शक्तिलाई परिचालन गर्ने बताइन्। उनले केवल स्टन्टबाजीले देश नबन्ने भन्दै देश निर्माणका लागि निरन्तर काम गर्नुपर्नेमा जोड दिइन्। “स्टन्ट गरेर देश बन्दैन, देश बनाउने हो भने काम गर्नुपर्छ,” उनले भनिन्।

डा. आनन्द सिंहले नेपालमा फरक भूगोल, संस्कृति, भाषा, आचरण र संस्कार भए पनि एकताले सबैलाई एकताबद्ध बनाएको बताए। उनले मुलुकलाई एकताको सूत्रमा बाँधेर राख्दा विचार, बौद्धिकता र समावेशिता जस्ता क्षेत्रमा सकारात्मक अभ्यास हुने धारणा व्यक्त गरे। “फरक भूगोल, संस्कृति, भाषा, आचरण र संस्कार भएका हामी नेपालीलाई एकताले एउटै डोरीमा बाँधेर राखेको छ,” उनले भने, “यो एकता सधैँ कायम रहेमा देश विकास हुनुका साथै अन्तर्राष्ट्रिय जगतमा पनि सकारात्मक सन्देश जान्छ। एकता भावनामा मात्र होइन, विचार, बौद्धिकता र समावेशितामा पनि हुनुपर्छ।”

पृथ्वी नारायण क्याम्पस पोखराका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति विष्णु पोखरेलले समावेशिता र समानताको प्रत्याभूति लोकतन्त्रमा मात्र सम्भव हुने बताए। उनले नेपाललाई मासु, तरकारी, फूल लगायतका क्षेत्रमा आत्मनिर्भर बनाउन सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने र युवाहरूले पनि बाँझो जमिनलाई उपयोग गर्न अग्रसर हुनुपर्नेमा जोड दिए।

त्यसैगरी शिवराज नगरपालिका कपिलवस्तुकी उपप्रमुख शिवकुमारी थारुले गणतन्त्रको रक्षाका लागि सम्पूर्ण युवा एकजुट भएर अघि बढ्नुपर्ने बताइन्। “विकास देख्न नसक्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरूले गणतन्त्रमाथि प्रहार गरिरहेका छन्,” उनले भनिन्, “युवा शक्तिले त्यस्ता शक्तिहरूलाई परास्त गर्दै अघि बढ्नुपर्छ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *