राजनीति

लोकतन्त्र बलियो बनाउन सबै एकजुट होऔँ : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले लोकतन्त्रलाई अझ बलियो बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन्। लोकतन्त्र दिवस र नयाँ वर्ष २०८२ को अवसरमा आज महाराजगञ्जस्थित आफ्नै निवासमा आयोजना गरिएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

नेता कोइरालाले लोकतन्त्रको संरक्षण र प्रभावकारी कार्यान्वयनका लागि नेपाली कांग्रेस बलियो हुनुपर्नेमा जोड दिए। उनले कांग्रेसभित्र कुनै पनि गुटउपगुट नरही एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। लोकतन्त्रमा मात्र सबै नागरिकको अधिकार सुरक्षित हुने भएकाले यसको रक्षाका लागि सबै सजग र सचेत रहनुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री दीपक खड्का, नेताहरू कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ, एनपी साउद, प्रवक्ता डा. प्रकाशशरण महत, महेश आचार्य, दीपक गिरीलगायत कांग्रेसका केन्द्रीय सदस्यहरू, विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थाका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *