देश

लोकतन्त्र दिवस : भृकुटीमण्डपमा युवाको उत्साह, कन्सर्ट र नाराबाजीले गुञ्जायमान

काठमाडौँ। जनताले निरङ्कुश राजतन्त्रलाई परास्त गरी लोकतन्त्र स्थापना गरेको ऐतिहासिक दिन, लोकतन्त्र दिवसको खुशियालीमा आज काठमाडौँको भृकुटीमण्डप युवाहरूको उत्साह र नाराबाजीले गुञ्जायमान भएको छ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले यो महत्वपूर्ण दिनको अवसरमा आयोजना गरेको ‘यूथ सेलिब्रेसन’ कार्यक्रममा सहभागी हुन देशभरबाट युवाहरूको ओइरो लागेको छ। लोकतन्त्रको समर्थनमा चर्का नारा लगाउँदै युवाहरू भृकुटीमण्डपमा जम्मा भइरहेका छन्।

कार्यक्रममा विभिन्न साङ्गीतिक प्रस्तुति, कन्सर्ट, झाँकी र नृत्य प्रस्तुत भइरहेका छन्। विभिन्न ब्याण्ड र कलाकारहरूले आफ्नो कला प्रस्तुत गरिरहेका छन्। कलाकारहरूको प्रस्तुतिसँगै युवाहरूको ठूलो समूह लोकतन्त्रको पक्षमा नारा लगाउँदै रमाईलो गरिरहेकाले कार्यक्रम स्थल गुञ्जायमान बनेको छ। यो कार्यक्रम अन्य सभाहरूभन्दा फरक रहेको कार्यक्रम समन्वय गरिरहेका एमालेको सङ्गठन विभागका सचिव माधव ढुङ्गेलले जानकारी दिए।

उनले भने, “देशभरबाट काठमाडौँ आएका युवा भृकुटीमण्डपमा जम्मा हुने क्रम अझै जारी छ। कार्यक्रममा सहभागी हुन काठमाडौँका विभिन्न स्थानमा भेला भएका युवाहरू लोकतन्त्रको पक्षमा नारा लगाउँदै भृकुटीमण्डपतर्फ आइरहेका छन्।”

करिब एक लाख युवाको सहभागिता रहने अनुमान गरिएको यो कार्यक्रममा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव शङ्कर पोखरेल र अन्य युवा नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको सचिव ढुङ्गेलले बताए।

उनका अनुसार एमालेबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङ, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल र अन्य युवा तथा विद्यार्थी नेताहरूले पनि सम्बोधन गर्नेछन्। कार्यक्रममा भाषणभन्दा बढी मनोरञ्जनात्मक प्रस्तुतिहरू रहने संयोजक ढुङ्गेलले जानकारी दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *