काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले वैशाख १७ गते औपचारिक रूपमा एकता घोषणा गर्ने भएका छन्।
जनमत पार्टीका अध्यक्ष सिके राउतको सचिवालयका अनुसार, लामो छलफलपछि दुई पार्टीबीच एकता गर्ने सहमति जुटेको हो।
राउतले केही शक्तिहरूले पार्टी फुटाउन, नेताहरूलाई खरिद गर्न र बदनाम गराउन विभिन्न षड्यन्त्र र दबाब प्रयोग गरेको आरोप लगाएका छन्।
एकीकृत पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ रहनेछ भने चुनाव चिह्न ढकिया हुनेछ। झन्डा कलेजी पृष्ठभूमिमा सेतो पिँधसहितको ढकिया हुनेछ।
सिके राउत अध्यक्ष रहने नयाँ पार्टीमा रेशम चौधरी संरक्षक र रञ्जिता श्रेष्ठ तेस्रो वरीयता पाएको सहअध्यक्ष रहनेछिन्।
पार्टीको केन्द्रीय समिति ७०० सदस्यीय हुनेछ। राउतको सचिवालयले यो एकता नेपालको राजनीतिक इतिहासमा अभूतपूर्व हुने दाबी गरेको छ।




