देश

लोकतन्त्रको रक्षाका लागि एकजुट होऔँ : कार्यबाहक सभापति खड्का

काठमाडौँ। नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले लोकतन्त्रमा मात्र सबैको अधिकार सुरक्षित हुने बताउँदै यसको संरक्षणका लागि सबै एकजुट हुनुपर्ने आह्वान गरेका छन्।

लोकतन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले यस ऐतिहासिक दिनमा वीर योद्धाहरूको साहस, सङ्कल्प र बलिदानको जगमा स्थापित लोकतन्त्रलाई कमजोर हुन नदिन प्रतिबद्धता जनाउन आग्रह गरे। उनले लोकतन्त्रका मूल्य र मान्यताहरूको रक्षा गर्न सबैलाई सजग र सचेत रहन पनि आग्रह गरे।

कार्यबाहक सभापति खड्काले विसं २००७ अघिदेखि सुरु भएको सङ्घर्षको ধারাবাহিকतामा निरङ्कुश राजतन्त्रको अन्त्य र लोकतन्त्रको पुनर्स्थापनाका लागि २०६२/६३ सालमा कांग्रेसको नेतृत्वमा अन्य राजनीतिक दलहरूले गरेको ऐतिहासिक जनआन्दोलनले विसं २०६३ वैशाख ११ गते देशमा युगान्तकारी परिवर्तन ल्याएको स्मरण गरे।

उनले राष्ट्रिय स्वाधीनता र नागरिक अधिकारका लागि बारम्बार भएका क्रान्ति, सङ्घर्ष र आन्दोलनमा आफ्नो जीवन बलिदान गर्ने वीर सहिदहरूको समर्पण, साहस र बलिदानको स्मरण गर्दै उनीहरूलाई श्रद्धाञ्जली अर्पण गरे।

यो परिवर्तनसँगै मुलुकमा नेपाली नागरिकको चाहनाअनुरूप आफ्ना प्रतिनिधिहरूद्वारा संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भई कार्यान्वयनमा आइसकेको उल्लेख गर्दै कार्यबाहक सभापति खड्काले संविधानले दिएका अधिकारहरूको सुदृढीकरण गर्दै देशलाई आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउने जिम्मेवारी सबैको काँधमा आएको बताए।

युगान्तकारी परिवर्तन भएको वैशाख ११ को यो ऐतिहासिक दिनलाई सबैले गौरवका साथ स्मरण गर्दै हरेक वर्ष लोकतन्त्र दिवसका रूपमा मनाउनुपर्नेमा उनले जोड दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *