
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा सांसद डा. सुनीलकुमार शर्माले स्वास्थ्य सेवा सुधार तथा सर्वसुलभ उपचारको सुनिश्चितता सम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गरेका छन्। प्रस्तावले नागरिकहरूका लागि गुणस्तरीय स्वास्थ्य सेवा पहुँचयोग्य बनाउन आवश्यक नीति तथा कार्यक्रम लागू गर्नुपर्ने आवश्यकता औँल्याएको छ।
सांसद डा. शर्माले ग्रामीण भेगका नागरिकहरूलाई स्वास्थ्य सेवामा समान पहुँच दिन, स्वास्थ्य बीमाको दायरा बढाउन र सरकारी अस्पतालहरूको सेवा प्रभावकारी बनाउन ठोस उपाय आवश्यक रहेको बताए। प्रस्तावमा स्वास्थ्य क्षेत्रमा वित्तीय लगानी वृद्धि, दूरदराजका क्षेत्रमा चिकित्सक र स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्थापन, औषधि आपूर्तिको प्रभावकारी प्रणाली र सर्वसुलभ उपचार सेवा सुनिश्चित गर्ने कानुनी संरचना तयार गर्नुपर्ने कुरामा जोड दिइएको छ।
प्रस्तावलाई विभिन्न दलका सांसदको समर्थन प्राप्त भएको छ। समर्थन गर्नेहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, स्वतन्त्र सांसद, नेकपा (एमाले) र नेपाली कांग्रेसका सांसदहरू रहेका छन्।
सांसद डा. शर्माले जनस्वास्थ्य सुधारमा सरकारले ध्यान दिनुपर्ने र स्वास्थ्य सेवा मौलिक हकअन्तर्गत पर्ने भएकाले सरकारको दायित्वको रूपमा यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताए। स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन र मृगौला समस्या भएका नागरिकहरूलाई सहज रूपमा उपचार सेवा उपलब्ध गराउन पनि उनले सरकारको ध्यानाकर्षण गराए।
प्रस्तावमाथि छलफलमा सहभागी सांसदहरूले प्रस्ताव महत्त्वपूर्ण भएको धारणा राखेका थिए।