काठमाडौँ। नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले सरकारले शिक्षा ऐन यही संसद् अधिवेशनबाट जारी गर्ने गरी काम अगाडि बढाएको बताएका छन्।
ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा नेपाल शिक्षक महासङ्घले आयोजना गरेको धर्ना कार्यक्रममा महासचिव पोखरेलले शिक्षासँगै अड्किएका कानुनहरू चाँडै ल्याउन दुई प्रमुख पार्टी मिलेर सरकार बनाएको बताए। “राज्यले शिक्षकको मागलाई ध्यानमा राखेर, संविधानको भावनालाई आत्मासात गर्दै शिक्षा ऐन जारी गर्छ। यो विषयलाई यही सदनमा टुङ्ग्याउन पाए हुन्थ्यो भनेर हामी आफैँ लागिरहेका छौँ,” उनले भने।
महासचिव पोखरेलले शिक्षा ऐनमा समेट्ने विषयमा एकमत बनाउन शिक्षक महासङ्घको सहयोग आवश्यक रहेको बताए। उनले शिक्षकहरूको नेतृत्वमा बस्ने नेताले आफ्ना विद्यालय पनि राम्रो बनाउन लाग्नुपर्ने धारणा राखे। उनले नेपालमा राजनीतिक दलले शिक्षामा समस्या ल्याए भन्ने गलत कुरा भइरहेको भन्दै अहिले शिक्षा क्षेत्रमा भएको विकास राजनीतिको योगदान हो भन्ने कुरा बिर्सन नहुने बताए।
महासचिव पोखरेलले परम्परागत शिक्षा प्रणालीलाई उद्यमशीलता र जीवन जिउने शिक्षामा परिवर्तन गर्न आवश्यक रहेको बताए। उनले नेपालको शिक्षाले अब सीपयुक्त र व्यावहारिक जनशक्ति उत्पादन गर्नुपर्ने भन्दै शिक्षाले नागरिक कर्तव्यसहितको जनशक्ति उत्पादन गर्नुपर्ने बताए।
कार्यक्रममा शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मणकिशोर सुवेदीले शिक्षक र कर्मचारी हितमा चाँडै शिक्षा ऐन जारी गर्नुपर्ने बताए। उनले ऐन जारी गर्नका लागि राजनीतिक दललाई दबाब दिन धर्ना कार्यक्रम राखिएको बताए।
महासङ्घले दोस्रो चरणको आन्दोलनअन्तर्गत फागुन २७ गतेदेखि चैत ५ गतेसम्म शिक्षा ऐन जारी गर्न र विद्यालय शिक्षा विधेयक अघि बढाउन प्रमुख राजनीतिक दलका कार्यालयमा धर्ना दिइरहेको छ।




