राजनीति

सभामुखले समय नदिएपछि सांसद सुमना श्रेष्ठ बैठकबाट बाहिरिइन्

काठमाडौं। सभामुख देवराज घिमिरेले बोल्ने समय नदिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठ प्रतिनिधि सभा बैठकबाट बाहिरिएकी छन्।

सोमबार प्रतिनिधि सभा बैठक सुरु हुनासाथ सांसद श्रेष्ठले आकस्मिक समय मागेकी थिइन्। सभामुखले समय नदिएपछि सांसद श्रेष्ठ बैठक छाडेर बाहिरिइन्।

बैठकको सुरुमै समय मागेर उठेकी सांसद श्रेष्ठलाई सभामुख घिमिरेले बस्न आग्रह गरे। त्यसपछि सभामुखले आकस्मिक समयमा बोल्न नाम टिपाएका सांसदहरूलाई समय दिएका थिए। यसमा सरस्वती बजिमय, रघुजी पन्त, रामकुमार राई, अशोक कुमार चौधरी, वीरेन्द्रप्रसाद महतो, सिता कुमारी राना, सूर्यबहादुर थापा, सम्झना थपलिया लगायतका सांसदहरूले आफ्नो भनाइ राखेका थिए।

आठ सांसदले आफ्ना कुरा राखेपछि सभामुख घिमिरेले आकस्मिक समय सकिएको भन्दै शून्य समय सुरु गर्ने घोषणा गरे।

प्रतिपक्षी बेन्चमा रहेकी सांसद सुमना श्रेष्ठले भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी नेपाली विद्यार्थीको न्यायको माग गर्दै प्रदर्शन गरेका विद्यार्थीहरूमाथि कलेज प्रशासनले दमन गरेको विषय उठाउन चाहन्थिन्।

तर सभामुख घिमिरेले उनलाई बोल्न समय दिएनन्। “यहाँबाट समय लिएर मात्रै बोल्न पाइन्छ। आसन ग्रहण गर्नुस्,” सभामुखले भने।

सांसद श्रेष्ठले भारतको भुवनेश्वरस्थित केआईआईटी कलेजको होस्टलमा मृत भेटिएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको न्यायको माग गर्दै आफूले आकस्मिक समयमा कुरा राख्न चाहेको बताइन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *