देश

रास्वपा सांसद तोसिमा कार्कीको रिटमा निर्णय सुनाउँदै सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले आज (आइतबार) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले दिएको रिटमा निर्णय सुनाउने भएको छ । सांसद कार्कीले निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरलाई विपक्षी बनाएर २०७९ कात्तिक १४ गते दिएको रिटको निर्णय सुनाउन पेसी तोकिएको हो ।

न्यायाधीशहरू मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले आइतबार निर्णय सुनाउने गरी पेसी तोकिएको छ। ललितपुर क्षेत्र नम्बर ३बाट निर्वाचन लड्न लाग्दा निर्वाचन आयोगमा कार्कीविरूद्ध उजुरी परेको थियो । नेपाल मेडिकल काउन्सिलकी निर्वाचित सदस्य भई लाभ लिइरहेका कार्कीले राजीनामा नदिई उम्मेदवारी दिएको भन्दै उनको उम्मेदवारी खारेज गरिदिएको थियो ।

सो पद सार्वजनिक पद हो वा होइन भन्ने विषयमा पनि प्रश्न उठेको थियो । निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएपछि कार्कीले सर्वोच्चमा रिट दिएकी थिइन् । उक्त रिटमा सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासले अन्तरिम आदेश जारी गरेको थियो । त्यस्तै २०७९ कात्तिक २८ गते न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले अन्तरिम आदेशलाई नै निरन्तरता दिएको थियो । उक्त आदेशपछि निर्वाचन लडेर कार्कीले ललितपुर क्षेत्र नम्बर ३ बाट सांसद पद जितेकी थिइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *