काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले सरकारको थुनामा राखेर बिना अपराध अभियोजन चलाउने प्रवृत्तिलाई मानव अधिकारको उल्लंघन भन्दै आलोचना गरेकी छन्। मंगलबार प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा बोल्दै उनले सरकारले कानुनी दुरुपयोग गर्दै मानव अधिकार उल्लंघन गरिरहेको आरोप लगाइन्।
गौतमले भनिन् कि अपराध पुष्टि नगरी थुनामा राख्ने प्रवृत्तिले नागरिकको मानव अधिकार र स्वतन्त्रता हनन भइरहेको छ। उनले भने, “राज्यले अभियोजन गर्न पाउँछ, तर थुनेर मात्रै अभियोजन गर्नुपर्छ भन्ने छैन।”
सांसद गौतमले यसरी सार्वजनिक प्रश्न उठाउने र आलोचना गर्ने व्यक्तिहरूलाई पक्राउ गर्ने र पछि अभियोजन गर्ने प्रवृत्तिमा विरोध जनाइन्। उनका अनुसार, यो सरकारको नागरिकमाथि डर र त्रासको वातावरण सिर्जना गर्ने प्रयास हो।
उनले कानूनअनुसार जनताले उठाएका प्रश्नको समाधान नगरी सरकारले जनतालाई थुनेर मात्र मुद्दा चलाउने प्रवृत्तिको विरोध गर्दै, “गम्भिर मुद्दाका कसुरदार बाहेक अरुलाई थुनामा नराखि अभियोजन चलाउनुपर्ने”मा जोड दिइन्।




