काठमाडौं । सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक राष्ट्रिय सभामा दर्ता भएको छ। मंगलबार बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सभा विधेयक शाखामा उक्त विधेयक दर्ता गरेको संसद् सचिवालयका सहायक प्रवक्ता अनन्त कोइरालाले जानकारी दिए।
विधेयकले सामाजिक सञ्जाल ‘प्लाटफर्म’ र त्यसका प्रयोगकर्तालाई नियमन गर्ने उद्देश्य राखेको छ। विधेयकमा उल्लंघन गरेमा एक करोड रुपैयाँसम्म जरिवाना र पाँच वर्षसम्म कैद सजायको कडा व्यवस्था प्रस्ताव गरिएको छ।
विधेयकअनुसार नेपालभित्र सञ्चालन हुने जुनसुकै सामाजिक सञ्जाल ‘प्लाटफर्म’लाई नेपालमा दर्ता अनिवार्य गरिनुपर्नेछ। दर्ता नभई सञ्चालन गर्ने प्लाटफर्म र प्रयोगकर्ताविरुद्ध कानूनी कारबाही गरिने उल्लेख गरिएको छ।
यो विधेयक पारित भएमा सामाजिक सञ्जालमा हुने दुरुपयोगलाई रोक्न सहयोग पुग्ने भनिए पनि यसले अभिव्यक्ति स्वतन्त्रतामा असर पर्ने आशंका पनि व्यक्त गरिएको छ।




