राजनीति

रवि लामिछाने र प्रभु बैंकको कनेक्सनका बारेमा थप अनुसन्धान गर्न आवश्यक छ : एमाले पूर्वमन्त्री बस्नेत

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रभु बैंकबीचको सम्बन्ध शंकास्पद रहेको बताएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत् ‘प्रभु बैंकले किन लामिछानेलाई संरक्षण गर्दैछ ?’ भन्दै उनले प्रश्न सोधेका हुन् । सहकारी ठगी प्रकरणमा लामिछानेलाई पोखरा,काठमाडौँ र रुपन्देही जिल्ला अदालतले क्रमशः ६५, ६० लाख र एक करोड धरौटीमा रिहा गर्न आदेश दिँदा प्रभु बैंक ग्यारेन्टी बसेपछि नेता बस्नेतले सो प्रश्न उठाएका हुन् ।

‘गरिब युवाले व्यवसाय गर्छु भन्दा पाँच लाख नपत्याउने, सरकारले सर्टिफिकेट र परियोजना धितो राखेर युवाहरूको रोजगारीको लागि नौ वटा सेक्टरमा १५ लाखदेखि २ करोड लोन प्रवाह गर भन्दा टेर्दैनन्’, उनले भनेका छन्, ‘अनि सहकारीबाट पैसा ठगेर ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने लामिछानेलाई संरक्षण गर्न रातारात बिना धितो दुई करोड २५ लाख किन उपलब्ध गराइरहेको छ ?’ सो विषयमा हजरौँ प्रश्न खडा भएको उनले बताएका छन्। नेता बस्नेतले उठाएको प्रश्नले पुनः एक पटक लामिछाने र प्रभु बैंकबीच सम्बन्धबीच अनुसन्धान गर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।

नेता बस्नेतले प्रभु बैंक र लामिछानेबीचको सम्बन्धमाथि प्रश्न उठाएका छन् । लामिछानेले प्रभु बैङभन्दा अन्य बैङ्कसँग सम्बन्ध नबढाई निरन्तर सोही बैङक्सँग सहकार्य गरेपछि सो बैंक र लामिछानेबीचको स्वार्थका विषयमा समेत अनुसन्धान गर्ने समय आएको बताइरहेका छन् । सो विषयमा अनुसन्धान गर्नुपर्ने आवश्यकता देखिएको उनले बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *