
ओखलढुङ्गा। सङ्गठन सुदृढीकरणमा केन्द्रीत गरेर सञ्चालित नेपाली कांग्रेस ओखलढुङ्गाको सय दिने अभियान सम्पन्न भएको छ । जिल्लाको आठ वटै स्थानीय तहमा सञ्चालित अभियान मङ्गलबार ४९औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा औपचारिक रुपमा सम्पन्न भएको हो ।
नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधी सूचना तथा सञ्चार विभाग प्रमुख मिन बहादुर विश्वकर्माको प्रमुख आतिथ्यतामा सञ्चालित अभियान गाउँदेखि जिल्लासम्म कांग्रेसको सङ्गठन सुधारका लागि जोड दिईएको नेपाली कांग्रेस जिल्ला कार्य समिति सहसचिव भोज कुमार श्रेष्ठले बताए । आठ वटै स्थानीय तह र ७५ वडा तहमासम्म अभियान सञ्चालन गरिएको श्रेष्ठको भनाइ छ ।
अभियानका क्रममा आठ स्थानिय तहका कांग्रेसमा आवद्ध नेता कार्यकर्ताहरुलाई केन्द्रीय प्रतिनिधी विश्वकर्मा मार्फत प्रशिक्षण दिईएको सहसचिव श्रेष्ठले बताए । यसका साथै पालिका साथै वडा तहमा रहेका समितिहरुको नियमित बैठक बसे नबसेको, वडा, पालिका र जिल्ला विच समन्वय भए नभएको, कृयाशिल सदस्ता वितरण तथा नविकरण भए नभएको अनुगमन गरिएको श्रेष्ठले जानकरी दिए ।
पार्टिको सुदृढिकरण र मजबुत बनाउन लाग्न नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधी सूचना तथा सञ्चार विभाग प्रमुख विश्वकर्माले सुझाव दिनुभएको थियो । सिद्धिचरण नगरपालिका, चिशंखुगढी, मानेभञ्ज्याङ, मोलुङ, सुनकोशी, चम्पादेवी, लिखु र खिजिदेम्बा गाउँपालिकामा पालिका स्तरिय अभियान सञ्चालन गरिएको थियो । अभियान अन्तर्गत नेपाली कांग्रेसका वडा, पालिका, जिल्ला, प्रदेश र केन्द्र तहका नेता कार्यकर्ताहरु परिचालित हुनुभएको थियो । यस अवसरमा नागरिकको समस्या, माग, गुनासो बुझ्ने तथा सङ्कलन गर्ने काम भएको थियो ।
पार्टी र जनप्रतिनिधी प्रति नागरिकको धारण बुझ्ने र गुनासो सम्बोधन गर्ने काम समेत भएको नेपाली कांग्रेस जिल्ला उपसभापति कमल तामाङले बताए । गाउँ तहमा रहेका नागरिकलाई केन्द्र विन्दुमा राखेर आवश्यक विकास, समस्या समाधान तथा उनिहरुको अबस्था नजिक बाट बुझ्ने काम भएको उपसभापति तामाङले जानकारी दिए ।
पालिका तथा वडा तहमा महाधिवेश प्रतिनिधीहरु, ओखलढुङ्गा प्रदेश ‘क’ मा प्रदेश प्रतिनिधी कुमार लुईटेल, प्रदेश ‘ख’ मा रुद्रप्रसाद अधिकारी पार्टी उपसभापति कमल तामाङ र नबराज केसीलाई संयोजक तोकिएको थियो ।