देश

विपदबाट प्रभावित नागरिकका लागि राहत, उद्धार र पुनर्स्थापनामा नेविसंघ र तरुण दल

काठमाडौं । नेपाली कांग्रेसले विपदबाट प्रभावित नागरिकका लागि राहत, उद्धार र पुनर्स्थापनामा पार्टी कार्यकर्ता परिचालन गरेको छ । कांग्रेस भ्रातृसंस्था नेपाल विद्यार्थी संघ राहत वितरणमा र तरुण दल बाढीबाट क्षतिग्रस्त क्षेत्रको सरसफाइमा लागेका छन् ।

नेविसंघ संगठनको सबै काम छाडेर श्रमदानमा लागेको अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए । उनका अनुसार राहतका लागि केन्द्रीय सदस्यबाट ५०० रुपैयाँ संकलन गरी सरकारी राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

तरुण दलले नक्खु क्षेत्रमा सरसफाइ सुरु गरेको छ । केन्द्रीय सदस्य अशोक झाले घरबास गुमाएकाहरुलाई टहरा बनाउने ठाउँको भने टुंगो नलागेको बताए । उनका अनुसार संगठन सरसफाइ र बाटो खुलाउने काममा खटिएको छ ।

गत आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले बाढी, पहिरो र डुवानबाट प्रभावितहरुको उद्धारमा सिंगो पार्टी परिचालन गर्न पूर्वनिर्धारित सय दिने विशेष अभियान रोकेको थियो । त्यस्तै प्रधानमन्त्री विपद राहत कोषमा पार्टीको तर्फबाट ५० लाख रुपैयाँ र सासंदले १५ दिन बराबरको तलब दिने निर्णय गरेको थियो ।

त्यस्तै बाढी प्रभावित क्षेत्रमा सहयोगका लागि भ्रातृ तथा शुभेच्छुक संस्था परिचालन गर्ने विषयमा सोमबार छलफल गरेको थियो ।

त्यस क्रममा राहत र पुनः निर्माणमा गर्नुपर्ने काम समेटेर तीन तहका सरकारलाई सुझाव प्रतिवेदन बुझाउने निर्णय गरेको थियो । प्रतिवेदन तयार गर्ने जिम्मा केन्द्रीय सदस्य मधु आचार्य र डा। गोविन्द पोखरेललाई दिइएको थियो ।

केन्द्रीय सदस्य आचार्यले संघ, प्रदेश र स्थानीय तहका सरकारले राहत र पुनः निर्माणमा गर्नुपर्ने काम समेटेर प्रतिवेदन तयार गरेको बताए । ‘तत्कालीन, अल्पकालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने कार्यहरु सुझावमा राखिएको छ’, उनले भने ।

कांग्रेसले आफूले जितेका स्थानीय तहका जनप्रतिनिधिलाई भने गर्नुपर्ने कामबारे पत्र लेखेर नै निर्देशन दिएको छ ।

बाढी प्रभावित क्षेत्रको क्षतिको अवस्था हेरे पुनर्निर्माणमा सहयोग गर्न नेपाल इन्जिनियर्स एशोसिएसनले क्षेत्रगत विज्ञताको आधारमा ६ जना इन्जिनियर रहेको एउटा टोली बनाएको छ ।

अध्यक्ष सुवासचन्द्र बरालका अनुसार उक्त टोलीले पुनर्निर्माणमा सहयोग गर्ने, भौतिक संरचनाका कारणले भविष्यमा हुनसक्ने क्षतिबारेमा जानकारी दिनेछ । उक्त टोलीमा रहेका इन्जिनियरहरु काभ्रे र ललितपुरमा खटिएका छन् ।

‘पुनर्निर्माणको काममा सरकारले चाहेको बेलामा आर्किटेक्ट इन्जिनियरहरुले स्वयंसेवी रुपमा काम गर्न तयार रहेको सरकारी निकायहरुलाई जानकारी गराएका छौं’, बरालले भने, ‘ठूलो संख्यामा इन्जिनियरको आवश्यकता प¥यो भनी सरकारबाट आह्वान भए टे«नरहरु तयार गरेका छौं ।’कांग्रेस महामन्त्री गगन थापाले अवरुद्ध राजमार्गमा वैकल्पिक व्यवस्था छिटो गर्न सरकारलाई आग्रह गरेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *