काठमाडौं। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार र बिहीबार हल्का चिसो बढ्न सक्ने पूर्वानुमान गरेको छ।
महाशाखाले मंगलबार दिउँसो विशेष बुलेटिन सार्वजनिक गर्दै हाल पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणालीको कारण बुधबार अपरान्हबाट सुदूरपश्चिम प्रदेश हुँदै बादल पूर्वतिर सर्ने जनाएको छ।
यो प्रणालीका कारण बुधबारदेखि सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का वर्षादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ। पहाडी तथा तराईं केही भूभागका थोरै स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले बुधबार र बिहीबार तापक्रम घटेर हल्का चिसो बढ्ने तथा आउँदो शुक्रबारबाट मौसम सुधार हुने अनुमान गरेको छ।





