काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले सुझावहरु समेटेर विधान संशोधन प्रस्तावलाई केन्द्रीय कमिटी बैठकमा पेस गर्ने निर्णय गरेको छ ।
शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले पार्टीको विधान संशोधन कार्यसमितिले पेस गरेको विधान संशोधन प्रस्तावमाथि आएका सुझाव तथा संसोधनहरुसमेत समावेश गरेर पुस ११, १२ र १३ गते बस्ने केन्द्रीय कमिटीमा पेस गर्ने निर्णय गरिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
समाजवादीले आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनका क्रममा विधान संशोधनका लागि पार्टीका संगठन विभाग प्रमुख वेदुराम भुसाल संयोजकत्वमा समिति गठन गरेको थियो । समितिले तयार पारेको प्रस्ताव केन्द्रीय कमिटी, राष्ट्रिय सम्मेलन हुँदै महाधिवेशनमा पेश गर्ने समाजवादीको तयारी छ ।
बैठकले ९ र १० गते बस्ने भनिएको स्थायी कमिटी र पोलिट्व्युरो बैठकलाई स्थगित गरी उक्त बैठकलाई केन्द्रीय कमिटी बैठकमा समायोजन गर्ने निर्णय गरेको छ ।
त्यस्तै, सचिवालय बैठकले विभिन्न प्रकारका नसर्ने रोगहरुले आक्रान्त गराइरहको अवस्थामा एकीकृत समाजवादीले पार्टीका नेता तथा कार्यकर्तालाई जिवनपर्यन्त गरिने अंगदान गर्न सावर्जनिक आह्वान गर्ने निर्णय गरिएको प्रचार विभाग प्रमुख खतिवडाले बताए ।




