देश

लम्पी स्किन रोगबाट देशभर ५२ हजारभन्दा बढी पशुको मृत्यु

काठमाडौं।कृषि तथा पशुपक्षी मन्त्री बेदुराम भुसालले लम्पीस्किन रोगको सङ्क्रमणबाट अहिलेसम्म १५ लाख १९ हजार सात सय ७९ पशु सङ्क्रमित भएको जानकारी दिएका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले सरकारले उपचारमा सक्दो प्रयास गरिरहेको समेत दाबी गरे ।

हालसम्म उपचार पश्चात् १३ लाख ८३ हजार पाँच सय ९५ पशु निको भएका र अहिले बिरामी अवस्थामा ७३ हजार ६ सय ३६ पशु रहेको मन्त्री भुसालले बताए ।

रोगको सङ्क्रमणबाट हालसम्म ५२ हजार पाँच सय ४८ पशुको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्री भुसालले कृषि क्षेत्रको विकासका लागि यान्त्रिकीकरण गर्ने सरकारको नीति भएको बताएका छन् । यो नीति प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत ७७ वटै जिल्लामा सञ्चालित भएको उनको भनाइ छ ।

भुसालले भने, ‘माटो परीक्षण, रोग, कीरा परीक्षण, रोग निदानका साथै किसान, कृषि फार्म, कृषक समूह, सहकारीलाई प्राविधिक तालिम दिइएको छ ।’

सांसद दीलेन्द्रप्रसाद बडुले गरेको प्रश्नको जवाफ दिँदै उहाँले स्वदेशमै रासायनिक मल उत्पादन गर्ने सवालमा अध्ययन भइरहेको बताए ।

सांसद प्रेम सुवालले नेपालमा कृषि यान्त्रिकीकरण किन हुनसकेको छैन भनी प्रश्न गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *