मुख्य समाचार

प्रतिनिधिसभा विघटन नगरेको भए वामपन्थी आन्दोलन ध्वस्त हुन्थ्योः अध्यक्ष ओली

काठमाडौं।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले गरेको प्रतिनिधि सभा विघटन सही भएको बताएका छन् । उनले नेपालको वामपन्थी आन्दोलन समाप्त पार्ने योजना रोक्न प्रतिनिधि सभा विघटन गरेको बताए ।

मंगलबार पार्टीको बागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिनिधि सभा विघटन नगरेको भए देशको वामपन्थी आन्दोलन ध्वस्त हुने दाबी गरे ।

‘हामीले पुस ५ गते प्रतिनिधि सभा विघटनको सिफारिस गर्‍यौँ, हामीले ठिक ठानेर गर्‍यौँ, ठिक भनेर गर्‍यौँ, ठिक थियो र गर्‍यौँ, नगरी नहुने थियो र गर्‍यौँ, बिल्कुलै समसामयिक कदम चाल्यौँ,’ उनले भने, ‘होइन भने हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो, ध्वस्त पार्ने षड्यन्त्र थियो, हामीलाई झुण्ड्याउन जुन डोरी उनीहरूले तयार गरेका थिए, त्यो डोरी छिनाल्दियौँ ।’

अध्यक्ष ओलीले संसद विघटनपछि पार्टीको सदस्यबाटै निकालिए पनि संगठन विस्तार र सुदृढ गरेर मजबुत बनाएर प्रमुख पार्टीका रुपमा पुनः स्थापित गरेको बताए ।

‘त्यो राजनीतिक, संवैधानिक, संसदीय कदम थियो, मुख्य रुपमा त्यो प्रतिक्रियावादी षड्यन्त्रको विरोधमा जाने एउटा सचेत कदम थियो, त्यो चाल्नै पथ्र्यो,’ संसद भंगबारे ओलीले थपे, ‘त्यसपछि हामी फागुन ११ मा फेरि प्रतिनिधि सभा पुनः स्थापना हुँदासम्म मजबुत रुपमा पुग्यौँ ।’

अध्यक्ष ओलीले सत्तारुढ नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल वामपन्थी आन्दोलन समाप्त पार्नका लागि हदैसम्म गिरेको बताए । नेपालले दुई तिहाईको कम्युनिस्ट सरकार ढालेर प्रतिक्रियावादी र दक्षिणपन्थी सरकार बनाउन भोट दिएको आरोप लगाए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *