काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को जारी अवरोधका विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेलाई शीतल निवास बोलाएका छन् ।
बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शीतल निवास बोलाएर सोही विषयमा चासो राखेका राष्ट्रपति पौडेलले आज बिहान १० बजे सभामुख घिमिरेलाई शीतल निवास बोलाएका हुन् ।
सभामुख घिमिरेसँग पनि राष्ट्रपति पौडेलले प्रधानमन्त्री दाहालसँग जस्तै संसद्को जारी गतिरोध अन्त्यका विषयमा कुरा गर्ने छन् ।
राष्ट्रपति पौडेलले जनताको सर्वोच्च निकाय संसद् लामो समय अवरुद्ध हुँदा त्यसले जनतामा नकारात्मक सन्देश प्रवाह भएको भन्दै प्रधानमन्त्रीसँगको भेटमा संसद् सुचारु गर्ने उपाय खोज्न आग्रह गरेका थिए ।
संक्रमणकालीन न्याय, शिक्षा ऐनका विषयमा राष्ट्रपतिले प्रधनमन्त्रीसँग चासो राख्दै तत्काल समाधानका लागि पहल लिन आग्रह गरेका थिए ।
सभामुखसँगको भेटमा पनि राष्ट्रपति पौडेलले संक्रमणकालीन न्यायका साथै शिक्षा ऐनका विषयमा कुरा गर्ने जनाइएको छ ।
नेकपा एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सय किलो सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति माग गर्दै दुबै सदन अवरोध गर्दै आइरहेको छ ।




