मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

साउन १२ गते शुक्रबार : संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरि घटेका घटनालाई एक साथ हेर्न मिल्ने गरि संकल्प विशेषलाई ध्यान दिदैँ मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो ।
हेर्नुहोस संकल्प खबरका १० मुख्य समाचारः

राप्रपाको केन्द्रीय कार्यालयमा महानगरको डोजर चल्ने

काठमाडौंं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालय तीन दिनभित्र हटाउन अल्टिमेटम दिएको छ ।काठमाडौँको धुम्बाराहीस्थित राप्रपाको कार्यालय विद्युत् प्रसारण लाइनमुनि रहेको भन्दै आइतबारसम्म हटाउन महानगरले शुक्रबार माइकिङ गरेको छ ।

काठमाडौं महानगरले २०७९ असोज १३ मा पनि कार्यालय हटाउनुपर्ने भन्दै सूचना टाँस गरेको थियो । दिलविकास राजभण्डारीले पार्टी कार्यालय बनाएर तत्कालीन राप्रपा नेपाललाई दिएका थिए । उनले पत्नी शशीकला राजभण्डारीको स्मृतिमा बनाएको भवनलाई राप्रपाले मुख्य कार्यालय बनाएको छ ।

राष्ट्रपति पौडेलद्वारा केही नेपाल ऐन संसोधन गर्न बनेको विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐन संसोधन गर्न बनेको विधेयक २०८० प्रमाणीकरण गरेका छन् ।संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको सो विधेयक संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि विश्वभर बढ्यो महँगी

भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि विश्वभर महँगी बढेको छ। महँगीलाई लिएर अन्तर्राष्ट्रिय मुद्रा कोष ९आइएमएफ० ले भारतसँग वार्ता गर्ने भएको छ। भारतले केही सीमित प्रकारका चामलमा लगाएको प्रतिबन्ध हटाउन वार्ता गर्ने आइएमएफको भनाइ छ।

भारत सरकारले यही जुलाई २० तारिखमा चाडपर्वको सिजनलाई मध्येनजर गर्दै बासमती चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो। देशमा बढ्दो चामलको मूल्य रोक्न र घरेलु आपूर्ति बढाउन सरकारले यस्तो निर्णय गरेको थियो।भारतको खाद्य मन्त्रालयले गैरबासमती उसिना चामल र बासमती चामल निर्यात नीतिमा कुनै परिवर्तन नहुने बताएको छ। भारतबाट निर्यात हुने कुल चामलमा गैरबासमती र सेतो चामलको हिस्सा करिब २५ प्रतिशत छ।

आइएमएफका प्रमुख अर्थशास्त्री पियरे ओलिभियर गौरिन्चसले भारतले अहिले चामल निर्यातमा प्रतिबन्ध लगाउँदा विश्वभरि नै खाद्यान्नको मूल्यमा अस्थिरता पैदा हुन सक्ने बताएका छन्। प्रतिबन्धको एक हप्तामै विश्वभर चामलको कमी हुन थालेको छ। अमेरिकामा बस्दै आएका कपितय भारतीय चामल किन्न लामो लाइनमा बस्नुपर्ने बाध्यतासमेत देखिएको छ।

कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ ।
प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबार प्रदेश सभा सदस्यहरूलाई दुई वा दुईभन्दा बढी दलहरूको बहुमत जुटाएर साउन १६ गते अपराह्न ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेको कोही प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सर्वोच्च अदालतको फैसलामा असार २१ गते जुन मितिदेखि नयाँ सरकार गठन भएको हो त्यही बिन्दुबाट सरकार गठन गर्न भनिएकाले नयाँ सरकारका लागि दाबी पेस गर्न भनिएको उल्लेख छ ।

विज्ञप्तिमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम नै नयाँ सरकार गठन हुने प्रदेश प्रमुख कार्यालयले स्पष्ट पारेको छ । एमालेले संविधानको धारा १६८ को उपधारा ३ अनुसार आफ्नो दलले सरकार बनाउन चाहेको उल्लेख गरेको छ ।अब दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत सिद्ध गर्ने दलको नेता नै मुख्यमन्त्री नियुक्त हुने निश्चित छ ।

राप्रपाको समेत साथ लिँदा मात्र कोशी प्रदेशमा सरकारलाई प्रष्ट बहुमत पाउन सहज छ। अहिले कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी गठबन्धमा छन्। उनीहरुको कूल सांसद ४६ छ। यस्तै, एमाले ४० र राप्रपाको ६ सांसदसमेत ४६ हुन्छ। ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ सांसदको समर्थन पाउनुपर्छ।

कांग्रेस बलियो भए प्रजातन्त्र बलियो बन्छ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस बलियो भए प्रजातन्त्र बलियो हुने बताएका छन । आज प्रजातान्त्रिक विचार समाजका नवनिर्वाचित पादधिकारीसँगको भेटमा सभापति देउवाले भने , कांग्रेस बलियो भएमा मात्र देशमा प्रजातन्त्र बलियो हुन्छ, त्यसैले विभिन्न पेशा, व्यवसाय तथा सबै क्षेत्रमा लागेका प्रजातान्त्रिक विचार राख्नेहरुले कांग्रेस बलियो बनाउनतर्फ लाग्नुपर्छ । उनले कांग्रेस र प्रजातन्त्रलाई बलियो बनाउनका लागि समाजबाट आएका सुझाव ग्रहण गर्दै सबै सुझाव कार्यान्वयन गर्ने बताए । प्रजातन्त्रलाई बलियो बनाउनेबारे समाजसँग बसेर पार्टीले विचार विमर्श गर्ने उनको भनाइ छ । सोही अवसरमा सभापति देउवाले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवम् सदस्यलाई सफल कार्यकालको शुभकामना समेत व्यक्त गरे ।

साढे ३८ लाख भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर

मुगुको छायानाथ रारा नगरपालिका, वडा नं २ मा पार्क निर्माण गर्दा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ललितजंग मल्लसहित ७ जनाउपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मुद्दा दायर हुनेमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मल्ल, तत्कालीन लेखापाल रुन बहादुर सेजुवाल, कम्प्युटर अपरेटर केशरबहादुर रावल, तत्कालीन इन्जिनियर महेश सिंह कठायत र तत्कालीन असिस्टेन्ट सव–इन्जिनियर हस्तबहादुर मल्ल छन् । यस्तै उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर रावल र कोषाध्यक्ष वसन्ती रावलमाथि पनि मुद्दा दायर भएको छ । उनीहरुले जिल्ला वन कार्यालयको स्वामित्वमा रहेको जिल्ला वन कार्यालयको कम्पाउण्डभित्रको जग्गामा जिल्ला वन कार्यालयबाट पार्क निर्माण गर्ने अनुमतिसमेत नलिई पार्क निर्माणस्थलको टुंगो नलगाई पार्क निर्माणको लागि डिजाइन, नक्सा र लागत अनुमान तयार गर्न लगाई स्वीकृत गरी उपभोक्ता समितिलाई ३८ लाख ४७ हजार ५०० रुपैयाँ पेश्की उपलब्ध गराएका थिए ।

काठमाडौंमा पोलिथिन झोला निषेध : अनुगमन टोली माइक्रोमिटरसहित फिल्डमा जाने

काठमाडौँ महानगरपालिकाले प्लाष्टिक निषेध अभियानलाई ‘सचेतना, रोकथाम र नियन्त्रण’ विधिबाट कार्यान्वयनमा लैजाने तयारी गरेको छ । यसका लागि आज नगर प्रहरी बलका अधिकारीहरुलाई प्लाष्टिक निषेधको कानुनी प्रबन्ध, यसको व्यवहारिक पक्ष र प्लाष्टिकको मोटाइ नाप्ने उपकरण प्रयोगका विषयमा प्रशिक्षण दिएको छ । वातावरण व्यवस्थापन विभागले आयोजना गरेको प्रशिक्षणमा प्रहरी बलका क्षेत्रहरुबाट अधिकारीहरुलाई सामेल गराइएको थियो ।

प्रशिक्षणमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले, महानगरका वडा, केन्द्र तथा अन्य कुनै पनि कार्यालयमा पोलिथिन झोला प्रवेश नगराउने कामबाट अभियान थालिएको बताए । कार्यालयको प्रवेश द्वारबाट पोलिथिन लैजान रोक्नु पर्छ । उनले नगर प्रहरी अधिकारीलाई निर्देशन दिँदै भने, ‘यसलाई कडाइका साथ पालना गराउनु पर्छ ।’ यसपछि आयात, भण्डारण तथा विक्री प्रणालीमा गएर ४० माइक्रोनभन्दा कम मोटाइका प्लाष्टिकको प्रयोग रोक्दै लगिने उनको भनाइ छ ।

अध्यागमनको सर्भर डाउन, अन्तर्राष्ट्रिय उडान प्रभावित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ ।
अध्यागमनको ‘सिस्टम डाउन’ हुँदा दिउँसो करिब साढे ३ बजेदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

अध्यागमन विभाग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत रामबन्धु सेडाइँका अनुसार सर्भर डाउन भए पनि ‘मेनुअल’रुपमा अन्तर्राष्ट्रिय यात्रु व्यवस्थापन भइरहेको छ ।अहिले सर्भर मर्मतको काम पनि भइरहेको छ ।“अध्यागनको सर्भर डाउन भएकाले मेनुअलरुपमा यात्रु व्यवस्थापन गरी सेवालाई निरन्तरता दिइएको छ”, प्रमुख सेडाइँले भने ।

विमानस्थल कार्यालयले पनि अध्यागमनको सर्भर डाउनले अन्तर्राष्ट्रिय उडान सामान्य प्रभावित भएको र मेनुअलरुपमा उडान सेवालाई निरन्तरता दिइएको जनाएको छ ।

सेनाको निमित्त प्रवक्ताको जिम्मेवारी महासेनानी गुरुङलाई

नेपाली सेनाको निमित्त प्रवक्ताको जिम्मेवारी महासेनानी अशोक गुरुङले सम्हालेका छन् ।
हालका प्रवक्ता कृष्णप्रसाद भण्डारी काम विशेषले कार्यक्रममा सहभागी हुन विदेश गएकाले केही समयका लागि महासेनानी गुरुङले निमित्त प्रवक्ताका रुपमा आजदेखि कार्यभार सम्हालेका हुन् ।
उपत्यका पृतनामा स्टाफका रुपमा कार्यरत महासेनानी गुरुङसँग यसअघि सैनिक जनसम्पर्क निर्देशनालयमा काम गरेको अनुभव छ ।

बिरामीको मृत्युपछि अस्पतालमा तनाव, प्रहरी परिचालन

भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल ९पुरानो मेडिकल कलेज० मा उपचारका क्रममा महिलाको मृत्यु भएपछि अस्पतालमा तनाव भएको छ । चितवनको खैरहनी नगरपालिका–१० बडगाउँकी ३२ वर्षीया शर्मिला हट्वाल उप्रेतीको मृत्युपछि आफन्तले अस्पताल घेराउ गरेका हुन् ।

चिकित्सकको लापरबाहीका कारण उप्रेतीको ज्यान गएको आरोप लगाउँदै आफन्तहरूले अस्पताल घेराउ गरेका छन् । आफन्तले अस्पताल घेराउ गरेपछि अस्पतालमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । मृतकका जेठाजु नमराज उप्रेतीका अनुसार साउन ९ गते ज्वरो र पिसाबसम्बन्धी समस्याका कारण शर्मिलालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । चिकित्सकले हाइडोजको इन्जेक्सन चलाएको र बिरामीलाई समस्या बढ्दै जाँदा चिकित्सक नभएको नहुँदा बिरामीको ज्यान गएको उनको आरोप छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *