काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रातृ संगठनका कार्यकर्तालाई अराजक गतिविधि गरे सदस्यता खोसेर निष्कासन गर्ने चेतावनी दिएका छन् ।
केन्द्रीय समितिको बैठकमा महामन्त्री शर्माले भ्रातृ संस्थाका गतिविधिका कारण देशभरको कांग्रेस बदनाम हुने अवस्था सह्य नहुने बताए ।
उनले भने, ‘भ्रातृ संस्थाका कतिपय गतिविधिले देशैभरको कांग्रेस आलोचित छ । एकठाउँमा कालोमोसो लगाउँदा अर्को ठाउँमा कांग्रेस बदनाम हुन्छ, त्यसकारण कालोमोसो लगाउने वा अराजक गतिविधि गर्नेको तत्काल सदस्यता खारेज गरी निष्कासन गरिन्छ । सबैले ध्यान दिएर सुन्नुहोला ।’
उनले अधिवेशनमा एउटा पदमा पराजित भएको व्यक्तिलाई त्यो भन्दामाथि मनोनीत नगर्न प्रस्ताव पनि गरेका छन् ।
उनले भने, ‘पार्टीको अधिवेशनमा एउटा पदमा पराजित व्यक्तिलाई सोही कार्यकालमा माथिल्लो तहमा मनोनीत गर्ने भन्ने कुराले त्यही तहको साथीलाई मसँगै हारेको मभन्दा माथि गयो भन्ने पर्छ । त्यसरी माथि जाँदा उसको प्रश्न गर्ने क्षमता पनि भुत्ते हुँदै जान्छ ।’




