असार २९ शुक्रबार : संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभर घटेका घटनालाई एक साथ हेर्न मिल्ने गरि संकल्प विशेषलाई ध्यान दिदैँ मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो ।
हेर्नुहोस संकल्प खबरका १० मुख्य समाचार:
सभामुखद्धारा संघीय संसदबाट पारित बजेटसम्बन्धी विधेयक प्रमाणित
काठमाडौं । सभामुख देवराज घिमिरेले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएका आर्थिक वर्ष २०८र८१ को बजेटसम्बन्धी विधेयक प्रमाणित गरेका छन् ।
नेपालको संविधानको धारा ११३ को उपधारा (१) बमोजिम सभामुखले प्रतिनिधि सभाले संशोधनबिना पारित गरेको र राष्ट्रियसभाले सुझावबिना फिर्ता पठाउने गरी पारित गरेका विनियोजन विधेयक,२०८०, आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० शुक्रबार प्रमाणित गरेका हुन् ।
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपालमा को–को संग गरे भेटवार्ता ?
एक दिने नेपाल भ्रमणमा आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ट ‘लु’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । धुम्बाराहीस्थित निवासमै पुगेर लुले देउवासँग भेटवार्ता गरेका हुन् । आठ महिनाअघि देउवा प्रधानमन्त्री भएका बेला लु नेपाल भ्रमणमा आएका थिए । एमसिसी पारित गर्ने बेला देउवा र लुको भेटवार्ता निकै चर्चित बनेको थियो । शुक्रबारको भेटमा दुवै नेताबीच नेपाल र अमेरिकाको सम्बन्धमा कुराकानी भएको थियो ।
यस्तै सहायक विदेशमन्त्ती लु ले नेकपा एमाले अध्यक्ष एवम पूर्वप्रधानमन्त्ती केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका छन् ।
उनले एमाले पार्टी कार्यालय च्यासल पुगेर भेटवार्ता गरेका हुन् । भेटवार्ताका क्रममा एमसीसी कार्यान्वयन तथा दुई देशबीचको सम्बन्धनबारे छलफल भएको ओलीको सचिवालयले जनाएको छ ।
अमेरिकाका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले परराष्ट्रमन्त्री एनपी साउदसँग पनि भेटवार्ता गरेका छन् ।सो भेटवार्तामा उनले एमसीसी कार्यान्वयनबारे चर्चा गर्दै सन् २०२६ मा नेपाल अल्पविकसित मुलुकहरुको सूचीबाट स्तरोन्नति र सो पश्चात् पनि अमेरिकाबाट नेपाललाई प्राप्त हुने सहयोगको निरन्तरता र बढोत्तरी र दुबै मुलुकबीचको द्विपक्षीय हितका विषयमा छलफल भएको छ ।
परराष्ट्रमन्त्री साउदले सहायक मन्त्री लुलाई अमेरिकाबाट प्राप्त नियमित सहयोग र कोभिड–१९ को संकटको समयमा प्राप्त भएको विशेष सहयोगका लागि कृतज्ञता व्यक्त गरेका थिए । यस्तै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेर प्रधानमन्त्री पत्नी स्व.. सीता दाहालको तस्बिरमा श्रद्धाञ्जली अर्पण गरेका छन्।
अन्य राजनैतिक दलहरुसंग पनि भेटवार्ता गर्ने क्रम जारी छ । एक दिने नेपाल भ्रमणमा रहेका लु शुक्रबार राति नै स्वदेश फर्किने भएका छन् ।
मिटरब्याजसम्बन्धी विधेयकमा रास्वपाको दोहोरो चरित्र
राष्ट्रिय स्वतन्त्र पार्टीले मिटरब्याजसम्बन्धी विधेयकमा दोहोरो चरित्र देखाएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा रास्वपाका सभापति रवि लामिछानेले विधेयक कार्यसूचीमा नराखेको भन्दै आपत्ति जनाए । उनले अर्को प्रतिनिधिसभाको बैठकमा मिटरब्याजसम्बन्धी विधेयक ल्याउन आग्रह गरे । नल्याए संसद् चल्न नदिने चेतावनी दिए । गत असार २० गतेसम्म प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्ने थियो । तर, एमाले, रास्वपा र राप्रपाले सदन चल्न नदिएका कारण मिटरब्याजसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन विधेयक पारित हुन सकेको थिएन ।
शनिबार पनि कर कार्यालय र बैंकहरु खुला रहने
कर कार्यालय र बैंकहरु भोलि शनिबार खुला रहने भएका छन्। आन्तरिक राजस्व विभागले आज एक सूचना जारी गर्दै असार ३० गते (शनिबार) कर कार्यालय तथा राजस्व संकलन गर्ने बैंकहरु खुला रहने जनाएको हो ।भोलि शनिबार सार्वजनिक बिदाको दिनमा समेत ठूला करदाता, मध्यस्तरीय करदाता, आन्तरिक राजस्व, करदाता सेवा कार्यालयहरु तथा राजस्व संकलन गर्ने बैंक शाखा एवं काउन्टरहरु खुला रहने र भुक्तानी क्लियरिङको कार्यसमेत हुने विभागले जनाएको छ ।
सचिव राउतको निवेदनलाई एकैसाथ पेश गर्नु :सर्वोच्च अदालत
सर्वोच्च अदालतले सञ्चार सचिव कृष्णबहादुर राउतले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनलाई अरु निवेदनका साथमा राखेर पेश गर्नु भनी आदेश गरेको छ ।
न्यायाधीशहरु सुष्मालता माथेमा र डा. कुमार चुडालको इजलासले ललितानिवास प्रकरणमा थुनिएका अरु आरोपितहरुको निवेदनको साथमा राखेर सचिव राउतको निवेदन समेत पेश गर्नु भनी आदेश गरेको हो ।
जनमत पार्टीको केन्द्रीय समिति विस्तार, प्रवक्तामा शरदसिंह यादव
डा सिके राउतले नेतृत्व गरेको जनमत पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ । सो पार्टीको सचिवालय बैठकले केन्द्रीय समिति विस्तार गरेको हो ।
बैठकले १७ सदस्यीय सचिवालय, ३९ सदस्यीय कार्यकारिणी समिति, १४ सदस्यीय राजनीतिक समिति र दुई सय १६ जनाको केन्द्रीय समिति बनाउने निर्णय गरेको पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले जानकारी दिए । उनका अनुसार केन्द्रीय समितिमा अधिकांश नयाँ सदस्य रहेका छन् ।
काठमाडौं महानगरको बजेट सर्वसम्मत पारित
काठमाडौं महानगरपालिकाको नीति कार्यक्रम र बजेट सर्वसम्मत पारित भएको छ । महानगरपालिकाका मेयर बालेन्द्र साह९बालेन०ले नगर सभा वैठकमा निर्णयार्थ पेश गरेको बजेट र नीति कार्यक्रम संशोधन सहित पास भएको हो ।
महानगरको १३ औं नगर सभाको पहिलो बैठक असार ६ गते बसेको थियो । १० असारको नगर सभा बैठकमा उपप्रमुख सुनिता डंगोलले, आर्थिक वर्ष २०८०र०८१ का लागि बजेट र विनियोजन विधेयक पेश गरेकी थिइन् ।
महानगरपालिकाले २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ । जसमा चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार रुपैयाँ र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ विनियोजन भएको छ ।
बुद्ध एयरको जहाज बीचबाटै काठमाडौं फर्काइयो
काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज बीचबाटै काठमाडौं फर्काइएको छ । त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलबाट उडेको नाइनएन–एजेओ जहाजमा समस्या आएको भन्दै १५ मिनेटमै फर्काइएको हो ।
काठमाडौंबाट उडेको जहाज १५ माइल उडेपछि ‘इन्डिकेसन’ मा समस्या देखिएपछि फर्काइएको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिएका छन् । कुन किसिमको समस्या हो भन्ने प्राविधिकहरुले अध्ययन गरिरहेको उनले जनाएका छन् ।
आदिकविको भानुभक्तको २१० औँ जन्मजयन्ती धुमधाम साथ मनाइयो
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्ती शुक्रबार देशभरि धुमधामका साथ मनाइएको छ । देश तथा प्रदेशमा रहेका नेपालीहरुले साहित्यकका एक महान धरोहर भानुभक्तको जन्मजयन्ती धुमधामका साथ विभिन्न कार्यक्रमका साथ मनाइएको हो । भानुभक्त आचार्यको २१० औँ जन्मजयन्तीको अवसरमा आज नेपाल प्रज्ञा प्रतिष्ठानमा रहेको आदिकवि भानुभक्तको सालिकमा माल्याअर्पण गरिएको थियो ।
अवसरमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पनि पुष्पमाला अर्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए । सो अवसरमा ब्राह्मण बटुकहरूले स्वस्तीवाचनसहित वैदिक मन्त्रोच्चारण आदिकवि आचार्यप्रति श्रद्धाभाव व्यक्त गरेका थिए । उनले स्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेका थिए ।
भारतद्वारा चन्द्रयान–३ प्रक्षेपण
भारतले चन्द्रमाको सतहमा मानवरहित अन्तरिक्ष यान अवतरण गर्ने प्रयासलाई निरन्तरता दिँदै चन्द्रयान–३ प्रक्षेपण गरेको छ । भारतले शुक्रबार अपरान्ह दक्षिणी राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट चन्द्रयान–३ (रकेट) अन्तरिक्ष यान प्रक्षेपण गरेको हो ।
विश्वको सबैभन्दा धेरै जनसंख्या भएको भारतसँग ‘कट–प्राइस एयरोस्पेस’ कार्यक्रम छ, जुन विश्वव्यापी अन्तरिक्ष शक्तिहरूले अन्तरिक्षमा पुग्न पाएको सफलतापछि द्रूत गतिमा बन्द गरेका छन् । यसअघि रूस, संयुक्त राज्य अमेरिका र चीनले मात्र चन्द्रमाको सतहमा नियन्त्रित अवतरण गरेका थिए ।




