राजनीति

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

असार २६ मंगलबार : संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभर घटेका घटनालाई एक साथ हेर्न मिल्ने गरि संकल्प विशेषलाई ध्यान दिदैँ मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो ।
हेर्नुहोस संकल्प खबरका १० मुख्य समाचार

संघीय संसदमा राष्ट्रिय सभाको बैठक सम्पन्न

काठमाडौं । राष्ट्रिय सभाको बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा सम्पन्न भएको छ ।
नेकपा एमालेले प्रधानमन्त्रीले राष्ट्रिय स्वाधिनताविरुद्ध बोलेको आरोप लगाउँदै राजीनामा माग गर्दै केही दिनदेखी अबरुद्ध संसद बैठक मंगलबार संचालनमा आएको हो ।
राष्ट्रियसभाको बैठकमा खर्च कटौतीको नौ प्रस्ताव प्रस्तुत गरिएका छन् ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले ‘विद्युतीय व्यापार विधेयक, २०८०’ राष्ट्रियसभा समक्ष पेस गरेका छन् ।

ललिता निवास प्रकरणमा थप दुई पूर्वकर्मचारी पक्राउ

ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले आज थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डिल्लीबजार मापलोत कार्यालयका तत्कालीन नायब सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्र रहेका सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जाकारी दिए ।

उनीहरुमाथि मन्त्रिपरिषदको निर्णयलाई अपव्याख्या गरेर सरकारी जग्गा व्यक्तिको नाममा बनाउन नक्कली फाइल बनाएको आरोप छ । त्यो फाइल तत्कालीन प्रमुख मालपोत अधिकृत कलाधर देउजा समक्ष पेस भएको पाइएको प्रहरीले जनाएको छ ।

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ६ जनाकै शव काठमाडौंमा

सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको पुष्टि भएको छ । त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार ६ जनाकै शव फेला परेको छ ।

दुर्घटनास्थलको मौसम प्रतिकूल भएका कारण नजिकै भकान्जे भन्ने स्थानमा उद्धारका लागि पुगेका दुई वटा हेलिकप्टर अवतरण गरेका छन् । अहिले शवहरु संकलन गरी काठमाडौं ल्याउने तयारी भइरहेको छ । हेलिकोप्टरमा सवार पाँच जना मेक्सिकन नागरिक हुन् । मृतक शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ ।

सर्वोच्च अदालत बालेनलाई वारिस राख्ने सुविधा दिन अस्वीकार

सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई वारेसको सुविधा दिन अस्वीकार गरेको छ ।अदालतको अवहेलना गरेको आरोप खेपिरहेका शाहले मुद्दाको तारिख खेप्नका लागि वारेसको सुविधाका लागि सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
बालेनको मागलाई सम्बोधन गर्न नसकिने भनि न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र हरि फूयालको इजलासले ‘आदेश गरेको हो ।

रेडक्रस महाधिवेशन रोक्न उच्च अदालत पाटनको अल्पकालीन आदेश जारी

नेपाल रेडक्रस सोसाइटीको असार २७ र २८ गते तोकिएको निर्वाचन तथा महाधिवेशनसम्बन्धी काम कारबाही रोक्न उच्च अदालत पाटनले अल्पकालीन आदेश जारी गरेको छ ।

न्यायाधीश राज्यलक्ष्मी बज्राचार्यको एकल इजलासले असार २९ गते पेशी तोकेर दुवै पक्षलाई छलफलका लागि उपस्थित हुन आदेश जारी गरेको छ । रेडक्रसको सोमबार सम्पन्न भएको महाधिवेशनबाट डा। नेत्र तिम्सिनाको अध्यक्षतामा ३३ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको थियो ।

सेनाको कम्पाउन्डभित्रको सडक २० वर्षपछि खुल्या
नेपाली सेनाको स्वयम्भू बारुद खाना (जर्मन क्वाटर) को कम्पाउण्डभित्रबाट मूल सडकसँग जोडिने सडक खुला भएको छ । जग्गा एकीकरण आयोजना सञ्चालनको २० बर्षे अवधिमा सडक खुल्न सकेको थिएन ।

अहिले सडक खुलेपछि स्थानीय खुसी भएका छन् । ‘२०७९ साउन ५ गते महानगरपालिकाका प्रमुख बालेन्द्र साह ९बालेन० ले फिल्ड निरीक्षण गरे। नेपाली सेनाले हकभोग गरिरहेको जमिनबाट सडक खोल्न प्रधान सेनापतिसँग भेटेर समाधानका लागि बालेनले छलफल गरेका थिए ।

सरकारले स्टन्टका लागि भ्रष्टाचारको मुद्दा चलाएको ओलीको आरोप
एमाले अध्यक्ष केपी ओलीले सरकारले स्टन्टका लागि भ्रष्टाचारको मुद्दा चलाएको आरोप लगाएका छन् । मंगलबार पार्टी कार्यालय च्यासलमा आयोजित युवाहरूको प्रशिक्षण कार्यक्रममा उनले अहिले सरकारले जे गरिरहेको छ, त्यसले केही हात पर्नेवाला नभएको उनले दाबी गरे ।

‘अहिले सरकारले भ्रष्टाचारको मुद्दा चलाएर स्टन्टबाज गरिरहेको छ । यसबाट केही हात पर्नेवाला छैन । भकुण्डो भित्तामा ठोक्काउँदा आफ्नै अनुहारमा लाग्छ । त्यसैले केही होला भनेर सोच्नु आवश्यक छैन,’ ओलीले भने ।

एक सय ५० शय्याको अस्पताल बनाउन कोरियासँग पाँच वर्षको सम्झौता

भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा एक सय ५० शय्याको सुविधा सम्पन्न अस्पताल बनाउन नेपाल सरकार र गणतन्त्र कोरियाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव अर्जुनप्रसाद पोखरेल र नेपालका लागि कोरियाका राजदूत पार्क, ते–योङले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे । संझौताअुनसार नेपाल–कोरिया मैत्री नगर अस्पताललाई विस्तार गर्न अमेरिकी डलर (५ लाख ९रू एक अर्ब २५ करोड ४० लाख) लगानी गरिने भएको छ । आगामी पाँच वर्ष (सन् २०२७) सम्ममा पूरा गरिसक्ने लक्ष्य रहेका छ।

बैतडीमा लम्पी स्किन नियन्त्रण बाहिर : ६४ हजार पशु सङ्क्रमित, नौ हजार मरे
बैतडीमा लम्पी स्किन रोग प्रकोपका रूपमा फैलिएको छ । घरपालुवा पशुमा देखिएको यो रोग नियन्त्रणबाहिर गएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनले जनाएको छ ।

यो रोग नियन्त्रणबाहिर पुग्दा पनि जिल्लामा हालसम्म खोपको उपलब्धता हुन नसकेको केन्द्रका पशु विकास अधिकृत तथा लम्पी स्किन सम्पर्क व्यक्ति डा विशाल पाठकले जानकारी दिए ।

यो रोगबाट हालसम्म ६४ हजार एक सय ९७ घरपालुवा पशु सङ्क्रमित छन् । उक्त रोगका कारण नौ हजार दुई सय ९८ पशुचौपाया मरिसकेका उनले बताए ।

दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने व्यक्ती पक्राउ
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ परेका छन् । ज्यान मार्न धम्की दिने व्यक्तिीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले मंगलबार काठमाडौँको महाराजगञ्जबाट पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तीले प्रसाईंसँग चन्दा भन्दै २० करोड रुपैयाँ माग गरेको सो रकम दिन दुर्गा प्रसाईंले अस्वीकार गरेपछि उनले ज्यान मार्ने धम्की दिएको सीआईबीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *