राजनीति

कांग्रेसको ध्यान अब क्रियाशील र साधारण सदस्यता वितरणमा, बोलाइयो जिल्ला सभापतिको भेला

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो ध्यान संगठन विस्तारमा केन्द्रित गर्ने भएको छ । असार पहिलो सातादेखि अनलाइन सदस्यता वितरण थालेको कांग्रेसले अब क्रियाशील सदस्य वितरणलाई पनि सहज बनाउने भएको छ । यसका लागि पार्टी सभापति शेरबहादुर देउवाले जिल्ला सभापतिको भेला बोलाएका छन् ।

बिहीबार पार्टी कार्यालय सानेपामा ७७ रै जिल्लाका सभापतिलाई बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ । अनलाइनमार्फत सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्ला सभापतिसँग कांग्रेस महामन्त्री गगन थापा संयोजकत्वको सदस्यता व्यवस्थापन समितिले छलफल गर्न लागेको हो ।

बिहीबार १२ बजे सभापतिहरूलाई केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ । असार १२ गते बसेको समिति बैठकले सदस्य वितरणको परम्परागत प्रणालीलाई परिवर्तन गर्दै सदस्यता वितरणको निर्णय लिएको थियो । समितिका अनुसार केन्द्रीय कार्यालयले आवश्यक प्रक्रिया पूरा गरी अनलाइनबाटै फोटोसहितको सदस्यता कार्ड उपलब्ध गराउनेछ ।

केन्द्रले उपलब्ध गराउँदै आएको क्रियाशील सदस्यता कार्डसमेत अब जिल्ला कार्यसमितिले नै प्रिन्ट गरी उपलब्ध गराउनेछ । क्रियाशील सदस्यता नवीकरणको नियमित प्रक्रियासमेत अनलाइनबाटै हुने कांग्रेसले जनाएको छ । नवीकरणका लागि जिल्लाबाटै प्रक्रिया पूरा गरी कार्ड उपलब्ध गराइनेछ ।

कांग्रेसले निरन्तर सदस्यता वितरणको काम हुने जनाएको छ । कांग्रेसको तथ्यांकमा १५ लाखभन्दा बढी साधारण सदस्य र आठ लाख ६५ हजारभन्दा बढी क्रियाशील सदस्य छन् । कांग्रेसको साधारण सदस्यताका लागि २० रुपैयाँ शुल्क लाग्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *