काठमाडौं । नेपाली कांग्रेसका तीन नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर नक्कली शरणार्थी प्रकरणमा दह्रो खुट्टा टेक्न अनुरोध गरेका छन् ।
महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री भीष्मराज आङ्देम्बेले शुक्रबार विहान भएको प्रचण्डसंगको भेटमा यस्तो सुझाब दिएका हुन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री र कांग्रेसका तीन नेताहरुबीच नक्कली भुटानी शरणार्थी प्रकरण र कोशी सरकारका विषयमा छलफल भएको थियो ।
प्रचण्डलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाउनका साथै दोषीलाई उन्मुक्ति नदिन समेत कांग्रेस तीन नेताहरुले सुझाव दिएका हुन् । कांग्रेस नेताहरुले उच्च ओहोदाका कुनै पनि व्यक्तिसँगको भेटघाटले यस प्रकरणलाई प्रभावित नहोस भनी सरकारको ध्यानाकर्षणसमेत गराएका छन् ।
शुक्रबार बिहान प्रधानमन्त्रीसंग भएको छलफलमा कोशीमा गठबन्धनको सरकार विषयमा पनि छलफल भएकोे र कोशीमा केन्द्रको गठबन्धन अनुसारको सरकार बनाउने विषयमा समन्वय र छलफलका लागि कांग्रेस शीर्ष नेताले थापा, शर्मा र आङ्देम्बेलाई जिम्मेवारी पाएका छन् ।




