काठमाडौं । रामपुर कृषि क्याम्पस, खैरहनी, चितवनमा स्ववियु निर्वाचनमा धाँधली भएको भन्दै पुनः निर्वाचन गराउन नेविसंघले क्याम्पस प्रमुखलाई ध्यानकर्षण गराएको छ । गत चैत १७ गते निर्वाचन समितिका संयोजकले क्याम्पसमा क्रियाशील नेपाल विद्यार्थी संघलगायत अन्य विद्यार्थी संस्थासँग समन्वय नगरी एकलौटी तवरले मतदान गराएर नतिजा घोषणा गरेपछि नेविसंघले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन माग गरेको हो ।
पुनः निर्वाचन गराउन र दोषीलाई कारवाहीको माग गर्दै क्याम्पस प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएपछि नेपाल विद्यार्थी संघ रामपुर क्याम्पस, खैरहनीका का.वा. सभापति एवं स्ववियु सचिव पदका उम्मेदवार विवेक अर्यालमाथि क्याम्पस हाताभित्रै आक्रमण भएको छ । आक्रमणबाट अर्याल गम्भीर घाइते भएका छन् । नेविसंघका अर्का नेता कुटिएकाेमा नेपाली कांग्रेसले भत्सर्ना गरेको छ ।
आक्रमणबाट नेपाल विद्यार्थी संघका तर्फबाट स्ववियु सभापतिका उम्मेदवार आशिष जैसी देवकोटा र निवर्तमान ईकाई अध्यक्ष सुरज यादव गम्भीर घाइते भएका थिए । तीनैजनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । नेपाली कांग्रेसले घटनाको यथार्थ छानविन गरी अवैधानिक रुपमा गरिएको निर्वाचन रद्द गरी पुनः निर्वाचन गराउन सम्बद्ध सबै पक्षसँग जोडदार माग गरेको छ ।




