काठमाडौं । नागरिकता प्रकरणमा रवि लामिछानेको सांसद पद खारेज भएसँगै साइवर सेनाको निसानामा सरकारी वेबसाइटहरू परेका छन् । शुक्रबार सर्वोच्च अदालतले लामिछानेको नागरिकता रद्द गरेसँगै शनिबारदेखि नै सरकारी वेबसाइट निसानामा परेका हुन् ।
अहिलेसम्म कसले सिंहदरबारका सरकारी वेबसाइट ह्याक गर्ने प्रयास गरिरहेको छ भन्ने नखुले पनि चार घन्टादेखि सबै सरकारी वेबसाइट डाउन गरिएका छन् । सिंहदरवारस्थित गृह मन्त्रालयको प्रांगणमा रहेको सर्भर डाउन भएपछि सरकारी निकायका सबै वेबसाइट बन्द भएको स्रोतले जानकारी दिएको छ ।
धेरै सरकारी वेबसाइटबाट महत्वपूर्ण डकुमेन्ट ह्याक गरिएको बुझिएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जीआइबीसीमा समस्या आएको बताएका छन् । उनले प्राविधिकहरू समस्या सुल्झाउन लागिपरेको बताए । तर विदेशबाट धेरै ट्राफिक देखिएकाले लामिछाने समर्थकले आक्रमण गरेको हुन सक्ने आशंका गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीसँग आइटी विज्ञ धेरै रहेको र उनीहरूले नै ह्याकर परिचालन गरेको हुनसक्ने स्रोतले बतायो ।




