समाचार

मुख्य समाचार : काठमाडौंका मेयर शाहको एक्सन शुरु, एकीकृत समाजवादी पार्टी गठनको एक वर्ष पुरा

काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँटको मोडालिटि तय गर्न बनाइएको कार्यदलमा दलहरूले सिटको दाबी पेश गरेका छन् । बिहिबारको बैठकमा गठबन्धनमा रहेका दलहरुले आफ्नो दाबी पेश गरेका हुन् । १६५ प्रतिनिधिसभा सदस्यका लागि गठबन्धन कार्यदलमा दलहरुले २२७ सिटमा दाबी पेस गरेका छन् ।

नेकपा एमालेको पोलिट ब्यूरोको बिहीबार बसेको दोस्रो बैठकले भोलिदेखि बस्ने केन्द्रीय कमिटी बैठकमा पेश गर्ने एजेण्डा बारे निर्णय गरेको छ । बैठकको निर्णय एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले सार्वजनिक गरेको हुन् । जसअनुसार पहिलो एजेण्डा राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थितिसँग सम्बन्धित छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको गतिविधिले शंका जन्माएको बताएका छन् । बिहीबार पार्टी पुनर्गठन दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रपतिको गतिविधिबारे सत्ता गठबन्धनले नियालिरहेको बताए ।

एकीकृत समाजवादीमा चार मन्त्री फिर्ता प्रकरण भुसको आगो झैं झन् झन् गढिँदै गएको पाइएको छ । पार्टीको पहिलो स्थापना दिवस कार्यक्रममा चार पूर्वमन्त्री उपस्थित नहुनुले यो प्रकरण अझै सेलाउन नसकेको देखिएको हो । काठमाडौंमा पार्टी स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा पार्टीबाट मन्त्री भएका चारजना कतै देखिएनन् ।

नेकपा एमाले पोलिट्व्युरो बैठकमा वाम एकताको प्रस्ताव गरिएको छ । च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार बसेको पोलिट्व्युरो बैठकमा स्थायी कमिटी सदस्य घनश्याम भुसालले वाम एकता गरेर एमालेले नेतृत्व लिनुपर्ने प्रस्ताव गरेका हुन् ।

सत्ता गठबन्धनमा रहेका दलहरुका बिचमा सिट बाँडफाँटको विषय पेचिलो बनेका बेला नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले विचार मिल्ने कम्युनिष्टहरुसँग एकता गर्दै जानुपर्ने प्रस्ताव गरेका छन् । पार्टी पुर्नगठन दिवस मनाउन आयोजित कार्यक्रममा नेता खनालले बिचार मिल्ने कम्युनिष्ट पार्टीहरुका बिचमा एकता गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ । कमान्ड सेनापति कोअर्डिनेटिङ कन्फेरेन्सको उद्घाटनका लागि जङ्गी अड्डा पुगेका बेला प्रधानमन्त्री देउवा र प्रधानसेनापति शर्माबीच भेट भएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिएका छन् ।

नेपालबाट तत्काल ४० देखि ५० मेगावाटसम्म विजुली खरिद गर्न बंगलादेश इच्छुक देखिएपछि नेपाल र बंगलादेशले भारतको विद्युत व्यापार निगम लिमिटेडलाई प्रसारणलाइन उपलब्ध गराउन आग्रह गर्ने भएका छन् । बिहीवार काठमाडौंमा दुई देशका सचिव स्तरीय निर्देशक समितिले ऊर्जा व्यापार सम्झौता अघि बढाउने विषयमा छलफल गरेको हो ।

काठमाडौँ महानगरपालिका नयाँ बानेश्वरस्थित अल्फाबिटाको अवैध संरचना भत्काएको छ । मेयर बालेन शाहको नेतृत्वमा गएको महानगरको टिमले अवैध संरचना भत्काएको हो । अल्फाबिटाको पार्किङ लटमा अवैधानिक संरचना बनाइएको भेटिएपछि भत्काइएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

केन्याविरुद्धको पहिलो टी–ट्वान्टी क्रिकेटमा नेपालले सहज जित निकालेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा बिहीबार नेपालले केन्यालाई ५ विकेटले हराएको हो । केन्याले दिएको १ सय ३१ रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गरेको हो ।

पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे थाइल्याण्ड निर्वासनको केही दिनपछि सेप्टेम्बरको पहिलो हप्तामै स्वदेश फर्कने तयारीमा छन् । राजापाक्षे सेप्टेम्बर २ वा ३ मा फर्किने सम्भावना रहेको डेली मिररले स्रोतलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ । कोलम्बोमा चर्को राजनीतिक विरोधपछि र देशको आर्थिक सङ्कटबाट आक्रोशित प्रदर्शनकारीबाट खतरा देखेपछि उनी गत जुलाई १३ को बिहान श्रीलङ्काबाट भागेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *