नवलपरासी पूर्व । लगातारको भारी वर्षाका कारण नारायणी नदीमा बाढी खतराको तह नजिक पुगेको छ । पानीको तह खतराको सतह नजिक पुगेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ढोका सोमबार राति नै खोलिएको छ ।
देवघाटस्थित जलमापन केन्द्रका अनुसार मंगलबार बिहान सवा ११ बजे नारायणगढस्थित नारायणी पुलमाथि पानीको सतह १० दशमलव ५२ मिटरमाथि पुगेको छ । त्यहाँ पानीको सतह ११ मिटरमाथि पुग्दा वार्निङ लेभल ( खतराको तह ) भन्ने बुझिन्छ ।नारायणीमा पानीको सतह बढदै गएपछि आसपासका बस्तीमा जोखिम बढ्छ । पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले नदीमा पानीको सतह बढ्दो देखिएका कारण आसपासको क्षेत्रमा डुबान र कटानबाट सुरक्षित रहन सर्वसाधरणलाई सूचना जारी गरिएको बताए ।
नारायणी कटानको जोखिममा रहेका गैंडाकोटदेखि त्रिवेणी धामसम्मको क्षेत्र सतर्कता अपनाउन स्थानीय तहलाई सूचित गरिएको उनले जानकारी दिए । मंगलबार बिहानबाट त्रिवेणीस्थित गण्डक ब्यारेमा पानीको सतह एक्कासी बढेका कारण त्यहाँका सबै ढोका खोलिएको छ ।
त्रिवेणी प्रहरी चौकीका अनुसार गण्डकका सबै ३६ ढोका सोमबार बिहान खोलिएको छ । त्रिवेणीस्थित गण्डकमा (नारायणी नदी) मा बांध बनाएर भारतले उत्तर प्रदेश र बिहारमा सिंचाइका लागि पानी लगेको छ । नहरको ढोका खोलिएपछि त्यहाँका दुवै नहरमा पानी जाँदैन । मंगलबार बिहान सवा ११ बजे त्रिवेणीस्थित गण्डक ब्यारेजमा पानीको सतह २ लाख ८३ हजार क्यूसेक लिटर रहेको छ ।
सबै ढोका नखोलिए त्रिवेणीधाम डुबाउने र बगाउने जोखिम हुन्छ । नेपाल भारत सिमानामा बनाइएको बाँध (गण्डक ब्यारेज) को ढोका खोल्ने बन्द गर्ने अधिकार भारतसँग मात्र छ । नेपालतर्फको भूभागमा बाढीको जोखिम बढेको जानकारी दिएपछि उनीहरूले ढोको खोल्दिने चलन छ । दुई दिनदेखिको झरीका कारण नारायणीमा पानीको सतह बढेको हो ।




