काठमाडौँ । नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य एम. अधिकारी को हुन् भन्ने विषयमा संसद्मा दिनदिनै सांसदहरूबीच सवालजवाफ चलिरहेको रछ । एमालेका सांसदहरूले एम. अधिकारीको विषय उठाउन आवश्यक नभएको भनिरहेका बेला सत्तारुढ दलका कोही न कोही सांसदले दिनदिनै प्रश्न गरिरहेका छन् ।
प्रतिनिधिसभाको आज (बिहीबार) को बैठकमा एमालेका सांसदले नै एम. अधिकारी खोज्नुभन्दा अरु नेताहरूलाई खोज्न सुझाव दिएका छन् । उनले सत्तारुढ दलका सांसदहरूलाई एम. अधिकारी नखोज्न भन्दै विभिन्न विषय उठाएका छन् ।
‘केही साथीहरू एमाले अर्थ विभागका एम. अधिकारी खोजिरहेका छन् । देशी-विदेशी शक्ति गुहारेर राष्ट्रपति, प्रधानमन्त्री पालैपालो बनेर राज्यको दोहन गर्ने र परिवारवाद लाद्ने नेता एस. देउवा, माओवाादी नेता पी. दाहाल र नेतृ ए. राणा देउवा खोजेर कारबाही गर्नुपर्ने होइन र ?,’ उनले अरु नेताहरूलाई पनि खोज्न सुझाव दिएका छन् ।
अर्थ मन्त्रालयमा बजेट निर्माणका क्रममा कानुनविपरीत गतिविधि गर्नेहरूलाई खोज्नुपर्ने उनको भनाइ थियो । ‘बजेटमा रातारात सेटिङ गरेर कर र भन्सारका दरहरू गडबड गरेर सीसीटीभीलगायत प्रमाण नष्ट गर्ने र कमिसन ६ अर्ब रुपैयाँभन्दा बढी गडबड गर्ने माओवादी नेता जे. शर्माको खोजी गरेर कारबाही गर्नुपर्ने होइन र ?’, उनले थपे, ‘पेट्रोलियम पदार्थको भाउ महंगिएर कालोबजारीलाई प्रोत्साहन गर्ने आपूर्तिमन्त्री कांग्रेस नेता डी. बडूलाई कारबाही गर्नुपर्ने होइन र ?’
त्यस्तै मल र पुस्तक अभाव गराउनेहरूलाई पनि खोज्नुपर्ने बस्नेतले बताएका छन् । ‘मल अभाव र पुस्तक अभाव गराई किसान र विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने एम. यादव र डी. पौडेलहरूलाई कारबाही गर्नुपर्ने होइन र ?,’ उनले कायममुकायम प्रधानन्यायाधीशलाई पनि कारबाही गर्नुपर्ने सुझाव दिए । ‘प्रधानन्यायाधीशलाई महाभियोग लगाई प्रक्रिया अवरोध गरेर कामु खाइरहेका डी. कार्कीहरूलाई कारबाही गर्नुपर्ने होइन र ? एमसीसी पास गर्न व्याख्यात्मक टिप्पणी गर्ने र एसपीपी सम्झौता गरेर मुलुकलाई महाशक्ति राष्ट्रको सैन्य रणनीतिको अंशियार बनाउने एस. देउवा र एम. खड्कालगायतलाई कारबाही गर्नुपर्ने होइन र ?’
बस्नेतले एम. अधिकारी को हुन् भन्नेबारे भने थप केही भनेनन् । एमाले अर्थ विभागका सदस्य एम. अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी हुन् भन्ने आशंका गरिएको छ । एमाले र अधिकारीले भने उक्त कुरा अस्वीकार गर्दै आएका छन् । तर एमाले अर्थ तथा योजना विभागका सदस्य एम. अधिकारी को हुन् भन्ने देखाउन सकेको छैन । बरु यो विषयले सडक र संसद्मा दिनदिनै प्रदर्शन, विवाद र बहस भइरहेको छ ।




