समाचार

श्रीलंका घटनाबाट देउवाले मात्र होइन, ओलीले पनि पाठ सिक्नु पर्छ : सांसद देव

काठमाडौँ । राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले श्रीलंका घटनाबाट प्रधानमन्त्री शेरबहादुर देउवाले मात्र नभएर पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पाठ सिक्नुपर्ने बताएका छन् ।

राष्ट्रियसभाको आज (मंगलबार) बसेको बैठककाे विशेष समयमा बोल्दै उनले श्रीलंकाबारेमा आफूले यसअघि विभिन्न सन्दर्भमा धेरै पटक उदाहरण दिने गरेको स्मरण गराएका छन् । उनले भने, ‘श्रीलंकाको बारेमा मैले दृष्टान्त पेस गर्ने गरेको थिएँ । ती विषय कति महत्वपूर्ण र सान्दर्भिक हुन गएको छ भन्ने कुरा विगत दुई-तीन दिनका समाचार हेर्दा पुष्टि भइरहेको छ ।’

उनले जे राम्रो भइरहेको छ, त्यसको जस केपी ओली नेतृत्वको सरकारलाई दिने र जे नराम्रो भइरहेको छ, त्यो सबै शेरबहादुर देउवा नेतृत्वको सरकारलाई दोष थोपर्ने प्रवृत्ति सही नभएको पनि बताए । ओम्नी प्रकरण, गोकणर् प्रकरणमा मुछिएको अघिल्लो सरकारका लागि पनि श्रीलंकाबाट सिक्नुपर्ने पाठ उत्तिकै महत्वपूणर् रहेको उनको भनाइ थियो ।

केपी ओलीले झैं श्रीलंकामा महिन्दा राजापाक्षेले पनि दुई तिहाई बहुमतको सरकार बनाएको चर्चा गर्दै उनले अहिले तिकै राजापाक्षे सैनिक अड्डामा गएर लुक्नु परिरहेको बताए । नेपालमा जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनमा समेत राजदरवार कब्जा नभएको स्मरण गराउँदै उनले तर दरबार पनि कब्जा हुँदोरहेछ भन्ने कुरा श्रीलंकाले देखाएको पनि प्रस्ट पारे । के कारणले श्रीलंका त्यहाँ पुग्यो भन्नेबारे गम्भीर विश्लेषण गर्न जरुरी रहेको उनले बताए । उनले भने, ‘तर नेपाल त्यता गइरहेको छैन भन्नेमा म ढुक्क छु ।’

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकले पनि देशको अर्थतन्त्र सकारात्मक दिशामा गइरहेको सन्देश दिएको उनले बताए । यद्यपि, सतर्क हुन भने आवश्यक रहेको उनको भनाइ छ । श्रीलंकाको गलत आर्थिक नीति, देशव्यापी भ्रष्टाचार र कमिसनतन्त्र, परिवारवादका कारण त्यो अवस्था आएको उनले बताए । नेपालको सन्दर्भमा उनले भने, ‘कुन नेताको अगाडि कुन कमिसन एजेण्टले घेराबन्दी गरेको छ भनेर दश वर्ष अगाडिदेखिको कुरा खोज्नु पर्दछ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *