समाचार

फुट्यो अखिल क्रान्तिकारी, असन्तुष्ट पक्षले समानान्तर कमिटी घोषणा गर्दै

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) औपचारिक रुपमा फुटेको छ । असन्तुष्ट पक्षले आज छुट्टै भेला आयोजना गर्दै समानान्तर कमिटी घोषणा गर्दैछन् ।

बानेश्वर क्याम्पसमा हुने भेलाबाट राष्ट्रिय भेला आयोजक कमिटी घोषणा गरिने असन्तुष्ट विद्यार्थीहरूले जानकारी दिएका छन् । असन्तुष्ट पक्षको नेतृत्व पवन कार्कीले गर्नेछन् । उनी संगठनमा उपाध्यक्ष थिए तर उनीसहित केही नेताहरू कारबाहीमा परेका छन् । कार्कीसहितका विद्यार्थी नेतामाथि कारबाही गरिएपछि अखिल क्रान्तिकारीको विवाद समानान्तर कमिटी घोषणासम्म पुगेको हो ।

असन्तुष्ट पक्षका एक विद्यार्थी नेताका अनुसार आज वानेश्वर क्याम्पसबाट पवन कार्कीको संयोजकत्वमा १९९ सदस्यीय विशेष राष्ट्रिय भेला आयोजक कमिटी घोषणा हुँदैछ । अहिले आयोजक समिति सदस्यहरूको नाम संकलन भइरहेको छ ।
संयोजकका साथै केही विभाग र कार्यालय टिम तयारी गरी राष्ट्रिय भेलाको मितिबारे पनि छलफल हुने असन्तुष्ट पक्षका नेता बालकुमार केसीले जानकारी दिए । तल्लो कमिटीबाटै संगठनको पुनर्गठन गर्दै आउने उनले बताए । असन्तुष्ट पक्षले आगामी असोजसम्म राष्ट्रिय भेला गर्ने गरी तयारी थालेको छ ।

संगठन विधान विपरीत चलेको, निषेध गरिएको र पार्टी अध्यक्ष प्रचण्डको निर्देशनविपरीत कमिटी चयन गरिएको आरोप असन्तुष्ट पक्षको छ । उनीहरूले आफ्ना मागबारे पार्टी अध्यक्ष प्रचण्डको समेत ध्यानाकर्षण गराइसकेका छन् । यता क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले भने संगठनविरुद्ध हुने भेलामा सहभागी नहुन आग्रह गरेकी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *