समाचार

विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाउने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाउने निर्णय गरेको छ ।

बुधवार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाउने र बनावट हेरफेरका लागि स्वीकृति दिने निर्णय गरेको जानकारी दिए ।

बैठकले उपत्यकाभित्रका प्रसारण लाइन तथा सबस्टेसनहरूमा संरचनागत सुधार, स्तरोन्नति र विस्तार गर्नका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय गरेको छ ।

त्यस्तै, सशस्त्र प्रहरी दोस्रो संशोधन नियमावली–२०८९ को मस्यौदा उपर लोकसेवा आयोगको परामर्श लिने र मध्य भोटेकोसी जलविद्युत आयोजनाको २२० केभी प्रसारण लाइनको लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी दिए ।

त्यस्तै, बैठकले कार्बन उत्सर्जन न्यूनीकरण खरिद सम्झौता गर्न वार्ता टोली गठन गर्ने र भेडेटार स्काई वाक निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने भएको उनले बताए ।

मन्त्रिपरिषद्ले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा धनुषाका शीतल साहुलाई नियुक्त गर्ने निर्णय गरेको छ भने श्रेणीविहीन स्थायी कार्यालय सहयोगी पदका कर्मचारीहरूको सेवा समूह र पद परिवर्तन गर्ने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *