काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शाेधनान्तर घाटाको सुरुवात तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भएको आरोप लगाएका छन्।
नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले सोमबार आयोजना गरेको ‘नेपालमा समाजवाद चुनौती र सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले शाेधनान्तर घाटाको सुरुवात ओली नेतृत्व सरकारको पालामा र त्यसमा तत्कालीन अर्थमन्त्री युवराज खतिवडा रहेको आरोप लगाएका छन् ।
नेपालमा विदेशी मुद्राको कमी, वैदेशिक व्यापार घाटा लगायतको सुरुवात ओली सरकारको पालामा भएको समेत उनले आरोप लगाए । प्रचण्डले अहिलेका राजनीतिक दलहरुले केही गरेनन् भन्ने गरी टिप्पणी गर्नु गलत भएको बताए ।
प्रचण्डले दलहरूका केही कमी कमजोरी भएपनि ऐतिहासिक रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । ‘अहिले पार्टीहरुले केही गरेनन् भन्नु कुरा गलत हो । पञ्चायती व्यवस्था विरुद्ध वामपन्थी र लोकतन्त्रवादी मिलेर आन्दोलन गर्यौं । एक खालको बहुदलीय व्यवस्थाको स्थापना भयो । शान्ति सम्झौता वरिपरि गरिएका संयुक्त आन्दोलनबाट धेरै परिवर्तन भए । यी सबै परिवर्तन संविधानसभा निर्वाचनपछि संविधानमार्फत स्थापित गर्ने काम भयो ।’
प्रचण्डले भने, ‘तर, अहिले दलहरूको ऐतिहासिक महत्व कम हुनेगरी ब्याख्या गर्न थालियो । केही पनि भएन हामी पहिला जहाँ थियौ त्यहीँ छौ जनताले केही पाएका छैनन् । अहिले केही पनि पाएका छैनन् भन्नु जनताले गरेको त्याग, तपस्या र बलिदानको अपमान हो । जनयुद्ध र जनआन्दोलनको अपमान हुन्छ ।’




