स्थानीय तह निर्वाचन-२०७९

भरतपुरमा रेनुले अग्रता बढाइरहँदा माओवादी केन्द्रको खातामात्र खोलियो

चितवन । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनबाट उमेदवार बनेकी नेकपा माओवादी केन्द्रकी जिल्ला इन्चार्ज रेनु दाहालको अग्रता कायमै छ । २९ वडा रहेको भरतपुर महानगरमा अहिलेसम्म २० वटा वडाको नतिजा आइसकेको छ ।

मेयरमा रेनुको अग्रता बढिरहँदा भरतपुरमा माओवादी केन्द्रले हालसम्म जम्मा एउटा वडा जितेर खातामात्र खोलेको छ ।

२०७४ को चुनावमा मतपत्र च्यातिएको वडामा नेकपा एमालेले जित हासिल गरेको छ ।
भरतपुरमा अब ९ वटा वडाको ३३ हजार ६०७ मत गन्न बाँकी छ । ९ वटा वडाको मत गन्न बाँकी हुँदा माओवादी केन्द्रले जम्मा एउटा वडामा चित्त बुझाएको छ । रेनु जिततर्फ नजिक भइरहेको बेला माओवादीले वडामा पाएको मत भने ज्यादै न्यून छ ।

भरतपुर महानगरमा जम्मा एक लाख २७ हजार ८३९ मत खसेको थियो । ९४ हजार २३२ मत गनेर सकिएको छ । मेयरकी उमेदवार रेनु दाहालले हालसम्म ३७ हजार २७ मत प्राप्त गरेकी छन् । एमालेका विजय सुवेदीले २८ हजार ९६८ मत मात्रै प्राप्त गरेका छन् ।

मेयरमा कांग्रेसबाट बागी उमेदवारी दिएका जगन्नाथ पौडेलले १२ हजार २३३ मत ल्याएका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ३९ हजार १२९ मत ल्याएका छन् । राप्रपाकी हिमला गुरुङले २२ हजार ९११ मत मात्रै प्राप्त गरेकी छन् ।

अहिलेसम्म नेपाली कांग्रेसले वडा नं १ ,२ ४, ५, ६, ८, १०, १४, १५, १६, १७ र २० गरी १२ वटा वडा जितेको छ । त्यसै नेकपा एमालेले ३, ११, १२ १८ र १९ गरेर ५ वटा वडा जितेको छ। नेकपा एकीकृत समाजवादीले ७ र ९ गरेर २ वटा वडा जितेको छ । नेकपा माओवादी केन्द्रले पनि वडा नं १३ मा जितेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *