काठमाडौं । नुवाकोट बेलकोटगढीबाट काठमाडौं आइ विभिन्न पेशामा आबद्ध विद्यार्थी, व्यवसायी र मजदुरहरुको भेलालाई गठबन्धनको तर्फबाट मेयरका प्रत्यासी जगतबहादुर गुरुङ लामाले सम्बोधन गरे । भेलालाई सम्बोधन गर्दै लामाले आफू धेरै नबोल्ने, काम गरेर देखाउने बताए ।
सफल पर्यटन व्यवसायीको परिचय बनाएका लामाले आफू मेयरमा निर्वाचित भए पूर्वाधार विकास, सिँचाई, युवा रोजगार, महिला र बालबालिका, प्रविधि, पर्यटन, कृषि र जलस्रोतमा विशेष ध्यान दिने बताए ।
उनले नगरको १३ वटै वडाका प्रत्येक १० जनालाई योजना छनोट गर्न दिएर विकासको नमूना प्रस्तुत गर्ने योजना मेयरका प्रत्यासी लामाले बताए । उनले सहकारी, शिक्षा र स्वास्थ्यमा विशेष जोड दिए । गुणस्तरीय शिक्षा तथा स्वास्थ्यमा सर्वसाधारणको पहुँचका लागि आफू लागि पर्ने लामाले बताए ।
सत्ता गठबन्धनको तर्फबाट मेयरका प्रत्यासी बनेका लामा अघिल्लो निर्वाचनमा एकदमै न्यून मतबाट एमालेका राजेन्द्ररमण खनालसँग पराजित भएको थिए । मेयर र उपमेयरमा गठबन्धनको उम्मेदवार भए पनि वडामा मित्रवत प्रतिस्पर्धा हुनेछ । यसअघि नगरको १३ वटा वडामध्ये १० मा एमाले, दुईवटामा माओवादी र एउटामा नेपाली कांग्रेस विजयी भएको थियो ।
यसपटक चुनावी समीकरण बद्लिएकाले नगरबाट एमाले बढारिने बताइएको छ । निवर्तमान मेयर खनालले राजनीतिक पूर्वाग्रह राखेर काम गरेको हुनाले नगरवासी उनको कामबाट सन्तुष्ट छैनन् । देशकै सबैभन्दा बढी बेरुजु भएको बेलकोटगढी नगरपालिका राज्यले जग्गा उपलब्ध गराउँदा समेत आफ्नो निजी भवन बनाउन सकेको छैन । त्यसैले नयाँ नेतृत्व बेलकोटगढी नगरवासीको चाहना रहेको स्थानीयवासी बताउँछन् ।




