समाचार

स्थानीय तह निर्वाचनमा आवश्यकताअनुसार तालमेल हुन्छ : नेता पौडेल

काठमाडौं ।नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनमा ठाउँ र आवश्यकताअनुसार तालमेल हुने बताएका छन् । शनिबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले वडा र पालिकामा हुने चुनावी तालमेलका विषय राष्ट्रिय राजनीतिमा भर नपर्ने बताए ।

‘ठाउँ र आवश्यकताअनुसार तालमेल हुन्छ’, उनले भने, ‘तालमेलका क्रममा राष्ट्रिय आवश्यकता के हो भन्ने विषयमा ध्यान दिइन्छ ।’ नेता पौडेलले सबै परिस्थितिको मूल्यांकन गरेर पठाउन जिल्ला, प्रदेश, क्षेत्र र पालिकालाई निर्देशन दिइएको बताउँदै केन्द्रको सबै निर्णय स्थानीय तहमा लाद्ने पक्षमा कांग्रेस नरहेको बताए । उनले भने, ‘केन्द्रबाट सबै निर्णय लादिँदैन । यस्तो नीति कांग्रेसको छैन ।’

अहिलेको राष्ट्रिय आवश्यकता परिवर्तनमाथि भएको प्रहार र प्रतिगमनविरुद्धमा रहेको उल्लेख गर्दै नेता पौडेलले परिवर्तनलाई जोगाउनुपर्नेमा जोड दिए । उनले गठबन्धन प्रतिगमनबाट जोगाउन र परिवर्तनको रक्षाका लागि भएको स्पष्ट पार्दै ७० वर्षको उपलब्धि रक्षाका लागि गठबन्धन गर्नुपरेको धारणा राखे ।

चुनावी तालमेलका विषयमा गठबन्धनका दलहरूसँग प्रारम्भिक छलफल भइरहेको उनको भनाइ छ । नेता पौडेलले अहिले नै कस्ले कहाँ छोड्ने भन्ने विषयमा टुंगाे नलागेको उल्लेख गर्दै छलफलबाट सबै कुराको टुंगाे लाग्ने बताए ।

फरक प्रसंगमा उनले कांग्रेसका कार्यकर्ताहरू निराशा हुनुपर्ने अवस्था नरहेको बताउनुभयो । ‘निराश हुनुपर्ने अवस्था छैन । रूखलाई छोड्ने कुरै छैन’, उनले भने, ‘चितवनका साथीहरू समझदार हुनुहुन्छ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *