काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा संस्थापन इतर समुहबाट नेता शेखर कोइराला सभापतिका लागि आधिकारिक उम्मेदवार भएका छन् ।
महाधिवेशन अन्तर्गत चुनावमा रामचन्द्र पौडेल पक्षले सभापति पदका लागि शेखर कोइरालालाई आधिकारिक उम्मेदवार बनाएको हो ।
पौडेल पक्षको शनिबार बसेको बैठकले कोइरालालाई आधिकारिक उम्मेदवारको रुपमा टुंगो लगाएको हो ।
यस्तै उक्त समूहले उपसभापतिका लागि महेश आचार्यलाई आधिकारिक उम्मेदवारको रुपमा घोषणा गरेको छ । महामन्त्री पदमा भने गगन थापाको उम्मेदवारी पक्का भएको छ । अर्को महामन्त्रीमा मिनेन्द्र रिजाल वा विश्वप्रकाश शर्मामध्ये एकलाई आधिकारी उम्मेदवार बनाउने गृहकार्य भइरहेको छ ।
नेता पौडेलले आफ्नो पक्षबाट शेखर कोइरालालाई सभापतिका लागि आधिकारिक उम्मेदवारको रुपमा उभ्याएको भन्दै विज्ञप्ति समेत सार्वजनिक गरेका छन् ।
कांग्रेस विधानमा १ सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री निर्वाचित हुने र १ जना कोषाध्यक्ष मनोनित गरी १४ जना पदाधिकारी रहने व्यवस्था गरिएको छ । केन्द्रीय सदस्यहरू खुलातर्फ ३५ जना, विभिन्न समावेशी समूह र पिछडिएको क्षेत्रतर्फ ६५ जना र ७ प्रदेशबाट १÷१ महिलासहित २१ जना आउने छन् । कांग्रेसको विधानमा उपसभापति, महामन्त्री र केन्द्रीय सदस्यमा खुलातर्फको छुट्टै कोटा भए पनि सहमहामन्त्रीमा खुलातर्फ कोटा छुट्याइएको छैन् ।




