तनहुँ । एघार दिनपछि तनहुँको सदरमुकामस्थित दमौली बजारको फोहर उठेको छ । व्यास नगरपालिकाले यही वैशाख ११ गतेदेखि फोहर सङ्कलन स्थगित गरेकामा आजदेखि फोहर उठाउन थालेको हो ।
फोहर बिसर्जन गर्ने ठाउँ अभावका कारण नगरपालिकाले बजार क्षेत्रबाट फोहर उठाउन सकेको थिएन । व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले अहिले तत्कालका लागि अस्थायी ठाउँ खोजेर फोहर बिसर्जन गर्न लागिएको जानकारी दिए ।
उनले भने, ‘दमौली बजारमा लामो समयदेखि फोहर उठ्न नसक्दा दुर्गन्धित हुन थालेको छ । अहिले फोहर गाडेछ तत्काल पुर्ने व्यवस्था मिलाएका छौँ ।’
फोहरमैलाको दिगो व्यवस्थापनका लागि प्रस्तावित जग्गा खरिदको अनुमति नेपाल सरकारसँग माग भएकामा हालसम्म पनि अनुमति प्राप्त हुन नसकेको उनले उल्लेख गरे ।
उनले भने, ‘हाल स्रोतमा वर्गीकरण गरी आएका नकुहिने फोहरलाई कार्यालय परिसरभित्र सूक्ष्म वर्गीकरण गरी बिक्रीयोग्य सामानहरू बिक्री गरी बिक्री अयोग्य वस्तुहरूको अन्तिम विसर्जनका लागि वडा नम्बर १ गल्वुवेशी अकला कमलडिहीमा व्यक्तिको जग्गामा अस्थायी व्यवस्थापन गरिँदै आएको थियो ।’
उक्त अस्थायी ठाउँ पनि फोहरले भरिएपछि अर्को ठाउँ खोजी कार्य भइरहेको लम्सालले बताए । नगरपालिकाले तीन वटा टिपर, चार वटा ट्याक्टर, एक जेसिवी, एक सक्सन ट्याङ्क, एक अटो र एक रिक्सा गरी ११ वटा सवारीसाधन दैनिक रूपमा सरसफाइ कार्यका लागि प्रयोग गर्दै आएको छ ।
नगरपालिकाको स्थापनाको ३२ वर्ष भए पनि यहाँ फोहरमैला व्यवस्थापन केन्द्र नहुँदा बेलाबेलामा समस्या हुने गरेको छ । नगरपालिकामा स्थापनाकालदेखिको मुख्य समस्याको रूपमा रहेको फोहरमैला व्यवस्थापन सधैँको समस्या बन्ने गरेको छ ।




